- सुजन बिस्ट
ट्रीङ ट्रीङ
ट्रीङ ट्रीङ
बिहान ५ बजे
अलार्मको हल्ला
मेरो कानमा गुनजिन्छन
अनि कप्टी गर्दै उठ्छु म
मुख पखालेझैँ गर्छु,
दुई जोर लुगा जिउमा अल्झाँउछु ,
एउटा खेस्रा कापी
र कलम झोलामा हाल्दै
म जुत्ता घिसारेर
कानमा ठेडी खाँदेर
घरको दैलोबाट निस्किन्छु
चिसो हावा
त्यसको बेगमा हल्लिएका
भक्तपुरे किसानका करेसाबारी हेर्दै
मेरो दिनचर्या सुरु हुन्छ ।
मोटर चडेर त्रि.बि जाँदै गर्दा
कोटेश्वर ,
“कोटेश्वर” झर्ने कोहि हुनुहुन्छ
भन्दै बाध्यताले खलासी बनेको बालखले
भन्छ ,
तब म मुखौटी छाम्छु
र त्यसलाइ कानमा सिउरिएर मुखमा
लगाउछु ,
कहिले धुलाम्मे सडक त कहिले हिलाम्मे सडक
यसकारण कि म नजन्मिदै भनिएको
मेलम्चीको पानी
काठमाडौँ आउन लागेको छ ।
बानेश्वर
मेरा आँखा ती
६०१ ले झुक्याउने भवनमा पुग्छ
अनि गुन्जिन्छ्न
बैठक अवरोध
बिना निस्कर्सको सम्झौता
जस्ता शब्दले जुहारी खेल्छन् ।
किर्तिपुर ,
धुलाम्मे, हिलाम्मे सडक
पार तर्दै
त्रि. बि को द्वारबाट छिर्छु म
तब
सिद्धीचरण श्रेष्ठले
“मेरो प्यारो ओखलढुंगा ”
भनेझैं
दिनभरको लागि
मेरो प्यारो किर्तिपुर भनिदिउँ जस्तै लाग्छ
CNAS भवन भित्रको कक्षाकोठामा
पढाई हुने
सामाजिक कार्य पढ्न थाल्छु
हो, त्यही बन्नको लागि जान्छु ,
“पहिचान बिनाको सामाजिक कार्यकर्ता”