Logo

‘सुलभ सेवाका लागि समिति गठन गर्यौँ’



Spread the love

७ भाद्र, भक्तपुर – भक्तपुर नगरपालिकाका नगरप्रमुख एवं भक्तपुर क्यान्सर अस्पतालको नवगठित व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भ्रष्टाचार रोक्न र क्यान्सर पीडित र अन्य बिरामीको सहज र सुलभ उपचारको सेवा प्रदान गर्न व्यवस्थापन समितिको जिम्मेवारी लिएको बताएका छन् ।

नगरपालिकाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भक्तपुरका जनता, अस्पतालका कर्मचारी, अस्पताल व्यवस्थापन समितिका केही पदाधिकारी, भक्तपुर क्यान्सर अस्पताल सहयोग समिति, रोटरी क्लब लगायतले लिखितरुपमा अस्पताल जोगाइदिन आग्रह गरेपछि बाध्य भएर नगरपालिकाले नयाँ व्यवस्थापन समिति गठन गरेको बताए ।

समस्याको समाधानका लागि तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष, महासचिव लगायतका पदाधिकारीलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमै नआएपछि बल्न लागेको आगो निभाउन साउन ३० गतेको नगरपालिका बैठकले नयाँ समिति गठन गरेको उनको भनाइ छ ।

नगरप्रमुख प्रजापतिले एनजीओ र आइएनजीओहरु कानूनबाहिर जान नसक्ने बताउँदै भने, “अस्पतालका कर्मचारी नियुक्तिदेखि सबै आर्थिक कारोवार अर्बुधरोग निवारण संस्था नामक एनजिओले गरेको छ, यहाँ भित्रको भ्रष्टाचार छानबिन गर्ने कुनै निकाय नभएपछि स्थानीय सरकारको अधिकार प्रयोग गर्दै समिति गठन गरेका हौँ ।”

भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव प्रा डा ऋषिकेशनारायण श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालले देशभरिका क्यान्सर रोगीहरुको उपचार गरिरहेको तथ्याङ्क प्रस्तुत गर्दै नयाँ व्यवस्थापन समिति गठनपछि अस्पतालका कर्मचारीहरुको मनोबल बढेको र अझ लगनशील भई बिरामीको सेवामा कार्यरत रहेको बताए ।

भक्तपुर क्यान्सर अस्पतालको सेवा सुविधामा कुनै किसिमको कमी नभएको र क्यान्सर बिरामीको सेवा अवरुद्ध नहुने प्रतिबद्धता जनाउँदै डा श्रेष्ठले भदौ १ गतेबाट सबै किसिमको रोगहरुको अप्रेशन सेवा शुरु भएको जानकारी गराए ।

भक्तपुर ९ का वडाध्यक्ष एवं भक्तपुर अस्पताल छानबिन समितिका संयोजक रवीन्द्र ज्याख्वले क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे जानकारी गराउनुहुँदै भक्तपुर क्यान्सर अस्पतालसम्बन्धी नगरपालिकाको प्रेस वक्तव्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्