Logo

आज कृष्णजन्माष्टमी र गाैरा पर्व पनि



Spread the love

६ भाद्र, काठमाडाैँ । आज राति स्वदेश तथा विदेशका सबै कृष्ण मन्दिरमा भव्यताका साथ कर्मका पुजारी भगवान् कृष्णको जन्मदिन मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वमा आज भगवान् श्रीकृष्णको पूजा आराधना गरीन्छ ।

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास  रहिआएकाे छ  ।

महाशिवरात्रि, महाष्टमीको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र कृष्णजन्माष्टमीको मोहरात्रि गरी यी चार रातलाई हिन्दू धर्मशास्त्रमा महत्वको रात मानिएको छ ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

ज्योतिषशास्त्रमा सूर्य ग्रहबाट भगवान् राम अवतार, मङ्गल ग्रहबाट नृसिंह अवतार र चन्द्र ग्रहबाट कृष्णको जन्म भएको वर्णन छ । शुक्रबार मध्यरातदेखि शनिबार बिहान ३ः३० बजेसम्म अष्टमी परेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा भाद्र कृष्ण अष्टमीका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने  प्रचलन परापुर्व कालदेखि चल्दै आएकाे छ ।

 

गाैरा पर्व पनि आजै

सुदुरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व मानिने गाैरा पर्व भाद्र कृष्ण पञ्चमीबाट सुरू भइ आज अर्थात भाद्र कृष्ण अष्टमिका दिन विभिन्न कार्यक्रम गरि समापन गरिदैछ ।

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गाैरिको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् ।

गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत ,धमारि आदि खेल खेलेर आनन्द लिन्छन् ।

गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

गौरा पर्व विशेष गरेर डाेटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो ।

प्रतिक्रिया दिनुहोस्