हामी कोही गाउँमा बस्छौ त कोही शहरमा । जहाँ भए पनि हामीले आफु बस्ने आसपासको क्षेत्रको सौन्दर्य बढाउन सक्छौं । फूल रोप्नु वा फूलबारी बनाउनु यसको सरल काइदा हो । यसबाट प्रत्यक्ष हामीलाई फाइदा पनि मिल्छ ।
एक छिन् सोचौं त, उठ्नसाथ ढकमक्क फूलहरु फुलेको देख्दा कस्तो हुँदो हो ? आफुले धेरै समय विताउने घर-आँगनमा रंगबिरंगी फूलहरु हावामा बयेली खेलिरहेको दृश्य कति मनमोहक हुँदो हो ? वास्तवमा फूलको सौन्दर्यले हाम्रो तनाव भुलाइदिन्छ । मनमा सकारात्मक उर्जा पैदा गरिदिन्छ ।
फूल रोप्नु, फुलाउनेको फाइदाहरु :
-फूलको सौन्दर्यले मनलाई आनन्दित तुल्याउँने मात्र नभएर खुसी ल्याउँछ ।
-फूल रोप्ने, स्यहार्ने क्रममा शरीर चलायमान हुन्छ । शरीरको व्यायाम हुन्छ ।
-दिक्क लागेको बेला, काममा मन नगएको बेला, मनमा अनेक कुरा खेलिरहेको बेला फूलहरु स्यहार-सुसार गरेर मनलाई शान्त तुल्याउन सकिन्छ ।
– फूल ढकमक्क फुलेको छ भने आगन्तुकहरु रमाउँछन् । आफ्नै बालबच्चाले पनि रमाइलो मान्छन् ।
– फूलबारी बनाएपछि सरसफाईमा ध्यान दिइन्छ । घर आसपासको क्षेत्र सफा हुन्छ । वातावरण स्वच्छ हुन्छ ।
– हामीलाई पूजापाठ, बिहेकार्जे जतिबेला पनि फूलको आवश्यक पर्छ । त्यस्तो अवस्थामा फूलको अभाव झेल्नुपर्दैन ।
कहाँ रोप्ने ?
गाउँमा फूलबारी बनाउने पर्याप्त ठाउँ हुन्छ । त्यसैले ग्रामिण भेगमा फूल रोप्नु, फूलबारी बनाउनु समस्या हुँदैन । यदि बगैंचा नभएपनि बार्दली, कौसी, छत जहाँ पनि फूल रोप्न सकिन्छ ।
फूल रोप्न, फुलाउनका लागि आफ्नै घर हुनुपर्छ भन्ने छैन । डेरामा बसिएको छ भने पनि आफुलाई अनुकुल हुने स्थानमा फूल रोप्न सकिन्छ ।फूल रोप्नका लागि वार्दली, एवं छतको अभाव भएमा ह्यागिङ प्लान्टहरु रोप्न सकिन्छ ।
कस्तो फूल रोप्ने ?
संभव हुन्छ भने सदावहार फुलिरहने फूल रोप्नु राम्रो हुन्छ, जो बाह्रैमास हरियो देखियोस् । मौसमी फूलहरु पनि रोप्न सकिन्छ । यसका लागि आफैले बिऊ बिजन राख्न सकिन्छ वा नर्सरीबाट ल्याउन सकिन्छ ।
कसरी रोप्ने ?
पर्याप्त खुला ठाउँ वा बगैंचा छ भने आफैले डिजाइन गरेर फूल रोप्न सकिन्छ । त्यस्तो ठाउँ नभए गमलामा फूल रोप्न सकिन्छ । फूल रोप्नका लागि मलिलो माटो चाहिन्छ । माटो र मललाई मिश्रण गरेर गमला भर्ने, त्यसमा फूल रोप्ने । फूल रोपेपश्चात त्यसको रेखदेख गरिरहनुपर्छ ।