२९ साउन, काठमाडौँ l सरकारले विधेयकहरू संविधानको भावना विपरीत ल्याएको आरोप नेपाली काँग्रेस सांसद जितेन्द्र नारायण देवले लगाएका छन् l
आज राष्ट्रियसभाको बैठकमा सहभागिता जनाउँदै सांसद देवले सरकारले संविधानमा रहेको अधिकारको अनुसूचीको भावना विपरीत विधेयकहरू ल्याएको र त्यसले ठुलो दुर्घटना निम्तन सक्ने तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभा र प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरू संविधानको भावना विपरीत भएको सांसद देवको जिकिर थियो । उनले भने, “संविधानअनुसार विधेयक नआउने र कानुनहरू नबन्ने हो भने भोलि संघीयताका लागि लडेका, गणतन्त्रका लागि लडेका समानुपातिक समावेशी लोकतन्त्रका लागि लडेका शक्तिहरूले भोलि के गर्लान् ? संविधानमा राखिएको अधिकारको अनुसूचीको भावना विपरीत विधेयकहरू आएका छन् । प्रहरी विधेयक, कर्मचारी विधेयक, सङ्घ, प्रदेश र केन्द्रको अधिकारसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोग गठन विधेयक आदि संविधानमा राखिएको अधिकार सूचीको भावना विपरीत छन् ।”
समिति र सांसदले केही विधेयक सच्याए पनि विधेयक ल्याउँदाको सरकारको मनसाय गलत रहेको आरोप सांसद देवले लगाए । सांसद देवले सरकार ६ महिना लामो कुम्भकर्ण निद्रामा सुतिरहेको आरोप लगाउँदै देशमा के भइरहेको छ सो बारे जानकारी छ कि छैन भन्दै प्रश्न पनि गरेका छन् । उनले भने, “राजनीतिक क्षेत्र अत्यन्त संवेदनशील अवस्था छ । यो सरकारको ध्यान त्यतातिर गइरहेको छ कि छैन ?”