२८ साउन, काठमाडौँ l स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्श तीव्र पारेका छन् । सोमबार स्वदेश फर्किए लगतै भेटघाट सुरु गरेका प्रधानमन्त्री ओलीले अहिले पूर्व एमालेका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।
बालुवाटार श्रोतका अनुसार पूर्व एमालेका नेताहरूसँग वार्ता सकिए पश्चात् नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने र पार्टी एकीकरण प्रक्रियाका बाँकी रहेका विषयहरू टुङ्गो लगाउने प्रधानमन्त्रीको तयारी रहेको छ ।
उक्त छलफल अघि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच गए साँझ पार्टी एकीकरणका बाँकी मुद्दा किनारा लगाउने जुक्तिका बारेमा वार्ता भएको थियो l
दुई अध्यक्षबीच छलफल भएपछि अझै केही आन्तरिक सहमति जुटाउनुपर्ने भन्दै आजका लागि बोलाएको सचिवालय बैठक सरेको सूचना बाँकी सचिवालय सदस्यहरूलाई पठाइएको थियो ।
सोही आन्तरिक सहमति जुटाउने प्रयासकै क्रममा पूर्व एमालेका शीर्ष नेताहरू बालुवाटारमा जुटेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयलका एक सदस्यले भने, ‘अब प्रधानमन्त्रीज्यू लगालग बैठक गरेर सबै कुरा टुङ्ग्याउने मुडमा हुनुहुन्छ, त्यसैले फर्किने बित्तिकै छलफल तीव्र पार्नुभएको हो ।’
यसअघि साउन १३ गते बसेको नेकपा सचिवालय बैठकले बाँकी रहेको एकीकरण प्रक्रिया सम्बन्धी जिम्मेवारी पाउन बाँकी रहेका केन्द्रीय नेताहरूसँग छलफल गर्ने निर्णय गरेको थियो ।
पार्टीका अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले नेताहरूको चाहना र योग्यताका विषयमा छुट्टाछुट्टै परामर्श गरेका थिए । अधिकांश नेताहरूसँग वार्ता गरेर उनीहरूको चाहना सहितको प्रतिवेदन पनि तयार महासचिव पौडेलले पारे ।
महासचिव पौडेलसँग कुराकानीको सिलसिलामा बढी जसो स्थायी समिति सदस्यहरूले सचिवालयका नेताहरूले विभाग प्रमुखको जिम्मेवारी लिन नहुने र त्यसका लागि स्थायी समिति सदस्यहरू सक्षम रहेको बताएका थिए । सचिवायल बैठकमा सो प्रतिवेदन पेस गर्नु अघि महासचिव पौडेलले प्रधानमन्त्री ओलीलाई हिजै जानकारी गराइसकेका छन् ।
३३ वटा विभाग मध्ये १८ वटा पूर्व एमाले र १४ पूर्व माओवादीका नेताहरूलाई दिने सहमति भएता पनि पार्टी स्कुल विभागको नेतृत्वको विवाद नसुल्झिएपछि नेकपामा विभागमा बस्न चाहने केन्द्रीय नेताहरूको जिम्मेवारी टुङ्गो नलागेको हो ।
स्कुल विभागको जिम्मेवारी प्रधानमन्त्री ओली सचिवालय सदस्य ईश्वर पोखरेललाई दिने पक्षमा छन् भने अध्यक्ष प्रचण्ड नारायणकाजी श्रेष्ठलाई स्कुल विभाग प्रमुख बनाउने पक्षमा छन् ।