Logo

कोहलीको कीर्तिमानी शतकसँगै तीन वान डे सिरिजमा भारतको १–० को अग्रता



Spread the love

२७ साउन, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले नयाँ कीर्तिमान बनाएका छन् । कोहलीको कीर्तिमानी शतकसँगै वेस्ट इन्डिजसँगको दोस्रो वान डे खेलमा भारत डकवर्थ लेविस पद्धतीको आधारमा ५९ रनले विजयी भएको हो । योसँगै तीन वान डे सिरिजमा भारतले १–० को अग्रता बनाएको छ ।

जितका लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४२ ओभरमा अल आउट हुँदै २ सय १० रनमा समेटिएपश्चात भारत विजयी भएको हो । वेस्ट इन्डिजका लागि ओपनर इभिन लुईसले ८० बलको सामना गर्दै सर्वाधिक ६५ रनको जोडे । त्यस्तै निकोलस पुरनले ५२ बलको सामना गर्दै ४२ रन जोड्दा अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

भारतका लागि भुवनेश्वर कुमारले ८ ओभरमा ३१ रन खर्चिदै ४ विकेट हात पारे । मोहम्मद शामी र कुलदीप यादवको नाममा समान २ विकेट रह्यो । खलील अहमद र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ सुरु गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट नोक्सानीमा २ सय ७९ रन बनायो । भारतका लागि कप्तान विराट कोहलीले १ सय २५ बलको सामना गर्दै सर्वाधिक १ सय २० रन जोडे । यो वान डे करिअरको कोहलीको ४२ औं शतक हो । योसँगै कोहली कप्तानको रुपमा एकै टोलीविरुद्ध सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । त्यस्तै कोहलीले सर्वाधिक रन बनाउने सुचिमा सौरभ गांगुलीलाई पनि पछि पारेका छन् । यस्तै श्रेयस ऐयरले ६८ बलमा ७१ रन बनाएका थिए।

वेस्ट इन्डिजका लागि कार्लोस वर्थवेटले १० ओभरमा ५३ रन खर्चेर ३ विकेट हात पारेका छन् । रोस्टन चेश र शिल्डन कर्टेलको नाममा समान १ विकेट रह्यो । आगमी बुधबार अन्तिम खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्