Logo

सन्दीप सम्मिलित टोरन्टो नेसनल्स एलिमिनेटरबाट बाहिरियो



Spread the love

२४ साउन, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेट लिगबाट बाहिरिएको छ । खराब प्रकाशका कारण खेल १७.१ ओभरमा रोकिएसंगै विनिपेग हक्सले डकवर्थ लेविस पद्दतिका आधारमा टोरन्टोलाई २ रनले पराजित गरेको हो ।

दुई सय ३९ रनको विजयी लक्ष्य पछ्याएको हक्सले १७.१ ओभरमा दुई सय एक रन जोड्दा खेल अवरुद्व भएको थियो । हक्सको जितमा जेपी डुमिनीले अविजित ८५ रन बनाए । चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर २ विकेट हात पारेका थिए । विनिपेगले अलराउन्डर सोमपाललाई पहिलो रोजाइमा राखेको थिएन ।

पहिलो ब्याटिङ थालेको टोरन्टोले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा २ सय ३८ रनको विशाल योगफल बनाएको थियो । उसका लागि हेनरिक क्लासेनले ४९ बलको सामना गर्दै ११ चौका र ५ छक्कासहित १ सय ६ रनमा नटआउट रहे । त्यस्तै, ओपनर रोड्रीगो थोमसले ४० बलको सामना गर्दै ७ चौका र ५ छक्कासहित ७३ रन जोडे ।

जितसँगै होक्स दोस्रो क्वालिफायर पुगेको छ । पहिलो क्वालिफायरमा भान्कुभर नाइट्सले ब्राम्प्टन वल्भ्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । अब हक्स र ब्राम्प्टनबीच हुने खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्