११ साउन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यलयमा सपथ लिएका छन् । विस्तारित मन्त्रिमण्डलमा कांग्रसका पौडेल समुहबाट रामकृष्ण यादवले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राजन केसीले युवा तथा खेलकुद, सञ्जय गौतमले शहरी विकास र यज्ञबहादुर थापाले कानुन मन्त्रालय पाएका छन् । त्यस्तै देउवा समूहका मीन विश्वकर्माले बाणिज्य, वीरबहादुर बलायर–भौतिक योजना तथा निर्माण, अम्बिका बस्नेतले गरिवी मन्त्रालय पाएका छन् ।
महेन्द्रबहादुर यादव खानेपानी तथा सरसफाई मन्त्री बनेका छन् । त्यस्तै खुमबहादुर खड्का समूहका मोहनबहादुर बस्नेतले सञ्चार र सटौला समूहका भीमसेनदास प्रधान–रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
माओवादी केन्द्रका गिरिराजमणि पोखरेल-स्वास्थ्य, टेकबहादुर बस्नेत-सामान्य प्रशासन, शिवकुमार मण्डल-आपुर्ति, महेन्द्रबहादुर शाही–उर्जा, सन्तकुमार थारु चौधरी-पशुपंक्षी, आशा खनाल-महिला बालबिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै फोरम लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव-नागरिक उड्डयन र गोपाल दहित-भुमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि प्रधानमन्त्री देउवाले कांग्रेससहित माओवादी र लोकतान्त्रिकबाट सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए। यो सँगै देउवाको मन्त्रिमण्डल संख्या २६ पुगेको छ।
यसैगरी नेकपा संयुक्तबाट मिथिला चौधरीले बातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।
महिला ३ मात्र
देउवा नेतृत्वको मन्त्रिमण्डलमा ३ जनामात्र महिला मन्त्री भएका छन् । कांग्रेसबाट अम्बिका बस्नेत तथा नेकपा संयुक्तबाट मिथला चौधरी एवं माओवादीबाट आशा खनाल मात्र मन्त्री भएका छन् । विभिन्न महिलाबादी संघ संगठनले मन्त्रिमण्डलामा ३३ प्रतिशत महिला मन्त्री बनाउनुपर्ने माग अघि सारिरहेका बेला देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषदमा अत्यन्त कम संख्यामा सहभागि गराएको हो ।