अनपेक्षित मोडिएको एक बहस : महिला हिंसा
केही समयअघि मैले एउटा लेख देखेँ, जसमा पुरुष हिंसालाई समाजले नजरअन्दाज गरिरहेछ भन्ने भाव तेर्साइएको थियो । शीर्षक साह्रै रोचक लाग्यो किनकि शब्दहरू दैनिक जीवनमा समाचारमा अगाडी सारिने भन्दा बेग्लै थिए । वास्तवमा पढ्दै जाँदा मलाई उक्त लेखमा सामान्य कमेन्ट मात्र गरेर ढुक्क बस्न पटक्कै मन लागेन, बरु प्रतिक्रिया दिने हुतहुती चल्यो । उक्त लेख एउटा अभिभावकका रूपमा पुरुषले निभाइरहेको भूमिका भन्दा माथि गएर सामान्यीकरण गर्न मैले सकिनँ । पुरुषले निभाइरहेको उत्पादनमूलक भूमिकालाई भावनात्मक पैठेजोरी गरेर कम महान् छैनन् भन्ने संवेदनासहित पुरुष हिंसामा लगेर जोड्ने प्रयास गरिएको जस्तो लाग्यो । यसरी एकाएक सामाजिक मुद्दा उठाएर भावनात्मक तर्क प्रस्तुत गरेर उदाहरणहरू पनि समाजका केही अपवादसँग तुलना गर्दा कहिलेकाहीँ पितृसत्तात्मक सोचमा नतमस्तक महिला तथा पुरुषहरूमा, ए हो पो कि त भन्ने भ्रम फैलन सक्छ ।
सामाजिक विषयमा कलम चलाउँदा हामी पारिवारिक पृष्ठभूमिमा मात्र सीमित रह्यौ भने कहिलेकाहीँ प्रस्तुतिकरण अपुरो हुन सक्छ । साथै व्यक्तिगत अनुभवलाई पनि समालोचनात्मक रूपमा सोच्न सकेमा र अरूका अनुभवलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गरिएमा भने त्यसले सामाजिक एजेण्डाको आवश्यकतालाई परिपूर्ति गर्न सक्छ । आवाज उसका निम्ति उठाइन्छ, जो दबिएको छ । कलम त्यसका निम्ति चलाउन सक्नुपर्छ, जसले कलम समाउने अवसर पाएनन्, कलम समाएर पनि लेख्ने अवसर पाएनन् अथवा भनौ लेखेर पनि पोष्ट्याउने हिम्मत गर्न सकेनन् । हिंसा भन्ने शब्द आफैमा सापेक्षित हुन सक्छ । विकसित मुलुकमा जुन धारसम्म पुगेर हिंसालाई जोडिन्छ, अविकसित र विकासोन्मुख मुलुक त्यहाँसम्म पुगेकै छैनन् ।
बलात्कार, हत्या, यौन शोषण, बेचबिखन, छाउपडी जस्ता जोखिमपूर्ण महिला हिंसाका घटना घटिरहँदा मानसिक र भावनात्मक हिंसामा बहस केही सहरी क्षेत्रमा बाहेक अन्यत्र प्राथमिकतामा ल्याउन सकिँदैन । हप्तामा दुई देखि तीन निर्मलाहरूले ज्यान गुमाइरहँदा, के भिडमा मौन उभिइरहेको पुरुषको भावनात्मक कठिनाइ र परिश्रमलाई जोडदार रूपमा ल्याउनु सान्दर्भिक होला त ? परिश्रमको विषय आजको आवश्यकता होइन तर भेदभावरहित वातावरणमा परिश्रम गर्न पाउनु चाहिँ आजको विषय हो ।
म हुर्के बढेको समाजले रातभर रोएर बिहान मुसुक्क हाँसेर हिँड्ने पुरुषलाई असल नै भनेको छ । घरका सबै सदस्यलाई जीवनभर पकाएर खुवाउने महिला ३ दिन महिनावारी भएको बेला पुरुषले पालो दिँदा, त्यस्तो श्रीमान् पाउनु त भाग्यको कुरा हो भनेर सह्राएको छ । मैले त कहिल्यै देख्न परेन, छिमेकी अङ्कलले आफ्नी श्रीमतीको लुगा धोएको, अनि कहिल्यै सुन्न परेन माइला दाजुले भाउजूलाई “तिमी” भनेर सम्बोधन गरेको । अझ मैले कहिल्यै कानुनी रूपमा साक्षी बस्नु परेन पल्लो घरकी दिदीलाई रक्सी खाएर उनको श्रीमान्ले कुट्दा, जबकि व्यवहारिक रूपमा हप्तामा एक दिनको लागि साक्षी बस्ने मै थिएँ । नेपाली समाजको व्यवस्था त एउटै गल्तीका लागि महिला र पुरुषलाई फरक–फरक सजाय दिने हो । बिहे गरेका पुरुषले विदेशमा गएर परस्त्रिगमन गर्दा सामान्य रूपमा लिने तर महिलाले कथमकदाचित उस्तै सम्बन्ध एउटा पुरुषसँग गाँस्दा चरित्रहिनताको ट्याग लगाउने हो । यही समाजमा श्रीमानको मृत्युपश्चात् विधवा बस्नु सामान्य कुरा हो भने, श्रीमतीको मृत्युपश्चात् विदुर बस्नुचाहिँ अचम्मको कुरो हो ।
सतिप्रथाको इतिहास बोकेको नेपाली समाज उम्केर आज छोरीलाई पनि पढाउनु पर्छ है भन्ने अवस्थामा आइपुगेको छ । कतिपय समुदायमा त छोरी पढाउने कुराका लागि मात्र पनि दशकौँ कुर्नुपर्नेछ । नेपाली समाजले समानताको सोच मात्र अभ्यास गरिरहेको छ, व्यवहारमा देखिन अझै लामो समय लाग्छ । यसैबिच सहरी र ग्रामीण महिलाका हिंसाका प्रकृतिमा पनि भिन्नता छन् । सहरी क्षेत्रमा पढेलेखेका महिलाका लागि “ग्राजुएट मेड” (पढेलेखेकी नोकर) भएर बस्नु पनि हिंसाको उदाहरण हो । हामीले पर जानुपर्दैन, आफ्नै वरिपरि हेर्यौं भने धेरै महिलाले बिहेपछि पढाई छोडेको देख्यौ, जागिर छोड्नुपरेको देख्यौ तर कुनै पुरुषले बच्चा भएको कारणले आफ्नो करियरको दागबत्ती दिन परेको सायदै सुनिन्छ ।
महिला र पुरुषको विभेद आमालाई महान् देख्नु र बुवाको पिडा नबुझ्नु होइन । आमाका निम्ति कोसेली ल्याउनु र बुवालाई ल्याउन बिर्सिनु पनि भेदभावको मुद्दा बनाउन केही समय कुरौँ न । भेदभावको गहिराइलाई केलाउनका निम्ति राजधानी मात्र पर्याप्त नहोला कि ? एउटा वास्तविक घटनाले मलाई आजसम्म घोचिरहेको छ, जुन गत वर्ष घटेको हो । कामकै सिलसिलमा डोटीमा एउटी २६ वर्षकी बहिनीसँग भेट भएको थियो । उनी एउटा सर्वेक्षणका निम्ति गणकको काम गर्न आएकी थिइन । म डोटीमै हुँदा उनले चसक्क भनेकी थिइन “घरमा दुइटी छोरी छन् अब एउटा छोरा पाउन पाए मलाई ढुक्क हुन्थ्यो ।” म काम सकेर काठमाडौँ फर्किसकेपछी उनले मलाई घण्टौँ फोन गर्थिन् अनि सधैँ एउटै कुरा गर्थिन्, “चाइनिज क्यालेन्डर हेरेर भनिदिनुस् न कुन डेटमा गर्भ रहँदा छोरा हुन्छ, मेरो बुढा अर्को महिना कतारबाट आउँदै हुनुहुन्छ” । उनको कुरालाई मैले गम्भीरतासँग नलिएको भान परेछ कि क्या हो, एक दिन उनले रुन्चे पारामा दुइपटकसम्म गर्भपतन गराइसकेको कुरा सुनाइन । त्यसपछि मलाई उनको अनुरोधको गहिराई महसुस गर्दा साह्रै पिडा भयो जबकि उनको स्तर डोटीका ७० प्रतिशत महिलाको तुलनामा धेरै राम्रो हो ।
महिलाका विषयमा लेख्नु र बोल्नु समयको माग हो, किनकि महिला र पुरुषको आर्थिक, सामाजिक र राजनीतिक असमानताको खाडल ठुलो छ । यो परिस्थिति सधैँ नरहला, कुनै दिन यस्तो आउला जतिबेला जेण्डर भन्ने बित्तिकै मुद्धाहरु पुरुषका विषयमा उठाइनेछन्, पुरुषको हकअधिकार हरेक क्षेत्रमा सुनिश्चित गर्नका निम्ति बहस चलाइनेछन् । महिलाको हकहितमा लेख्नु भनेको पुरुषको निन्दा गर्नु पक्कै होइन । अझ साहित्यिक भाषामा भन्नुपर्दा, सचेत वर्गले बुझ्नु आवश्यक छ कि धर्तीको सम्मान गर्नुलाई आकाशको निन्दा हो भन्न कदापि मिल्दैन ।