Logo

खानेपानीमन्त्रीद्वारा बिजुली र इन्धन बिना पानी तान्ने पम्पको निरीक्षण



Spread the love
फाइल तस्बीर

१६ साउन, काठमाडाैँ – खानेपानीमन्त्री बीना मगरले बिजुली र पेट्रोलियम पदार्थको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिँचाइ तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गरेकी छन् ।

ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गत ठैब र गोदावरीस्थित उक्त प्रविधि सञ्चालनमा ल्याइएको छ । नेशनल एग्रिकल्चर एण्ड फरेष्ट्री प्रालिले पम्पको माध्यमबाट बिना बिजुली र इन्धन पानी तान्ने पम्प प्रविधि नेपालमा भित्र्याएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक गौतम महर्जनले यस्तो प्रविधि नेदरल्याण्डबाट आयात गरिएको जानकारी दिए । नेपालका विभिन्न पहाडी इलाकामा यस प्रविधिको माध्यमबाट पानी तानेर गाउँबस्तीमा सिँचाइ र पिउनका लागि सहज बनाइएको प्रबन्ध निर्देशक महर्जनले बताए । कम्पनीले वर्षा र पापा पम्प नामकरण गरी प्रविधिको प्रयोग गरिरहेको छ ।

“यो पम्पबाट पानी तान्न बिजुली र डिजेल चाहिँदैन । यो पानीको प्रेसरबाट नै चल्ने पम्प हो”, महर्जनले भने, “विशेष गरी पहाडी क्षेत्रमा तल खोलाबाट पानी तानेर माथि गाउँबस्तीमा पुर्याउन यो प्रविधि निकै सहयोगी हुने गर्दछ । वर्षामा पम्पले बिना बिजुली र इन्धन बगेको पानीको प्रवाहबाट पम्पलाई घुमाइ नदी, खोला वा नहरको पानीलाई २० मिटर ठाडो र दुई किलोमिटर दूरीमा फाल्ने काम गर्छ ।”

पापा पम्पबाट पहाडतिर घट्ट चलाएजस्तो पम्प चलाएर ५० मिटरदेखि १५० मिटर ठाडो उचाइमा पानी तान्न सकिने महर्जनले जानकारी दिए । यस पम्पबाट पानी तानेर सिँचाइ र माछापालन गर्न सकिने उनको भनाइ छ । महर्जनले यो सबैभन्दा सस्तो प्रविधि भएको दाबी गरे ।

अवलोकनपछि मन्त्री मगरले यस किसिमको प्रविधि नेपालको हरेक गाउँ बस्तीमा निकै उपयोगी हुने बताइन् । यस किसिमको नयाँनयाँ प्रविधिको प्रवर्द्धनमा सरकारले सहयोग गर्ने उनको भनाइ थियो । सो अवसरमा मन्त्री मगरसँगै खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्