Logo

ब्यालेन डे’अरका लागि एलिसनको योग्यता



Spread the love

गत वर्ष फुटबलमा भएका ट्रान्सफरमध्ये सबैभन्दा उत्कृष्ट ट्रान्सफर ब्राजिलियन गोलकिपर एलिसन बेकरको ठहिरियो । योर्गेन क्लोपका ठूला चुनौति पार गर्दै उनले क्लोपले आफुलाई छान्नु उपयुक्त भएको संकेत दिइसके । लिभरपुलले उनिमाथि खर्च गरेको एक–एक रकमको हिसाब किताब उनले एकै सिजनमा क्लबको अगाडी छर्लङ्ग पारिसके ।

लोरिस क्यारियस तथा सिमोन मिग्नोलेटलाई नै लिएर सिजन समाप्त गर्ने मनसाय बनाएको लिभरपुलले एलिसनमाथि आँखा लगायो र क्लबमा भित्र्याएरै छोड्यो । उनको आगमनले लिभरपुल गत सिजन युरोपमा अन्य क्लबहरूभन्दा केही माथि उठ्न सक्यो ।

ब्राजिलियन एलिसनले गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै समाप्त गरे । च्याम्पियन्स लिग र कोपा अमेरीकामा उनको खेल निकै उत्कृष्ट रह्यो । व्यक्तिगत विधामा उनले कोपा अमेरीका, च्याम्पियन्स लिग र प्रिमियर लिग गरी ३ वटै प्रतियोगितामा उत्कृष्ट गोलकिपर ठहरिँदै ३ वटा गोल्डेन ग्लब्स जिते ।

गोलकै आधारमा लिभरपुलमा उनको प्रदर्शनलाई दाज्ने हो भने साच्चै नै उत्कृष्ट रह्यो । २०१८/१९ मा लिभरपुलको पोस्टमा जम्मा २२ गोल भए । त्यो गोल संख्या २०१७/१८ को भन्दा ३८ ले कम हो । आफ्नो पोस्टमा जम्मा ३८ खेल खेल्दा एलिसनले प्रिमियर लिगमा ७६ वटा आक्रमण विफल पारे । यो तथ्याङ्कले उनको गुणस्तरीयता र लिभरपुलले तिरेको मुल्यलाई सार्थकता दिइसकेको छ ।

किपरको काम विशेषतः गोल पोस्ट सम्हानु नै हो । तर, एलिसनले आँफुलाई अरू भन्दा फरक शैली तथा क्षमता भएको किपरको रूपमा चिनाउने जमर्को समेत गरे । डिफेन्डरसँग बल माग्दै डिफेन्डरको परिस्थितिलाई सहज बनाउन समेत उनि लागि परे । जसको प्रत्यक्ष फाइदा मिडफिल्डर र फरवार्डलाई समेत भयो । आफ्नै पोस्टबाट बल छलाउँदै अगाडी जाँदा विपक्षी खेलाडी छरिने र मौका सिर्जना गर्न सजिलो हुनेतर्फ उनले सोच्न भ्याए ।

क्बलमा जमे जत्तिकै राष्ट्रका लागि खेल्दा पनि जम्न सके एलिसन । कोपा अमेरीकाकामा ब्राजिलले खेलेका ५ खेलमा जम्मा १ गोलमात्रै ब्राजिलको पोस्टमा छिर्यो । त्यो पनि फाइनल खेलको पेनाल्टीमार्फत । गत सिजन एलिसनले ६२ खेलमध्ये ३६ खेलमा क्लिनसिट नै राखे । प्रिमियर लिगमा एलिसनले जस्तो खेल पस्कन किपरलाई अत्यन्तै कठीन छ ।

एलिसनको ब्यालोन डे’अरको स्थितिर सम्भाव्यता

गएको १ दशक ब्यालोन डे’अर उपाधिमा मेसी र रोनाल्डोको एकलौटि राज चलेको थियो । मेसी र रोनाल्डो मैदानमा रहुन्जेल उनीहरू २ बाहेक ब्यालोन डे’अर कसैले पनि जित्न नसक्नेसम्मका अडकल बाजि समेतले चर्चा नपाएका हैनन् । तर, गत वर्ष ब्यालोन डे’अरमा रहेको एकलौटि राज तोडियो । रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले मेसी र रोनाल्डोलाई पछि पार्दै ब्यालोन डे’अरको उपाधि उठाए । अब भने डे’अरमा नयाँ अनुहारको नाम लेखिनेछ । किनभने चलेको परम्परा तोडिएपछि नयाँ मान्यता बस्नु सामान्य नै हुन्छ ।

यस वर्ष अर्थात् २०१८ को ब्यालोन डे’अरका बारेमा पनि विभिन्न चर्चा परिचर्चा सुरू भइसकको छ । चर्चामा मेसी र रोनाल्डोको नाम छुट्ने त कुरै भएन । रोनाल्डोले इटालीमा सौन्दर्यताले भरीएको खेल प्रस्तुत गर्दा मेसी बार्सिलोनामा सदाबहार जादुमयी प्रदर्शनलाई यथावत राख्न सफल भए । मेसी र रोनाल्डोको प्रदर्शनले उनीहरू दुबै जना अझै ब्यालोन डे’अर जित्ने क्षमता भएका खेलाडीहरू भएको दर्शाउँछ ।

यो वर्ष मेसी र रोनाल्डोसँग प्रतिस्पर्धा गर्ने लिभरपुलका भान डाइक छन् । लिभरपुलका सेन्ट्रल ब्याक डाइकले उच्चस्तरीय प्रदर्शन गर्दै च्याम्पियन्स लिगको उपाधि चुमे । आँफुसँगै खेलेका र एकै हातले च्याम्पियन्स लिग उठाएका भान डाइकको चर्चा ब्यालोन डे’अरका लागि चुलिँदा एलिसनको नाम भने चर्चामा छैन । सबैका आ–आफ्नै अड्कल बाजि भएता पनि एकै सिजन ३ वटा गोल्डेन ग्लब्स जित्ने एलिसन ब्यालोन डे’अरको दौडका साइलेन्ट किलर नहोलान् भन्न सकिन्न । किनकी गत सिजन उनको प्रदर्शन ब्यालोन डे’अर जित्न योग्य समेत रहेको थियो ।

०००

०००

प्रतिक्रिया दिनुहोस्