१४ साउन, खोटाङ – यहाँका सांसदले लामो समयको खडेरीका कारण समस्यामा परेका जनतालाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेका छन् ।
खोटाङ, भोजपुर, ओखलढुङ्गा, तेह्रथुम, पाँचथर र धनकुटाबाट विजयी सांसदले सोमबार गृहमन्त्री थापालाई भेटेर खडेरीबाट पीडितलाई राहत तथा दीर्घकालीन समस्या समाधान गर्न मन्त्रीसँग माग गरेको सांसद विशाल भट्टराईले बताए । “कोशी नदी किनारको बस्तीमा तीन वर्षदेखि खाद्यान्न समस्या छ”, उनले भने । तत्काल राहत र उक्त क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न उनले माग गरिएको बताए ।
सिंहदरवारस्थित गृहमन्त्रालयमा पुगेर सांसदले मकैको बीउ, आवश्यक खाद्यान्न तथा नगद उपलब्ध गराउन गृहमन्त्री समक्ष माग गरेका थिए । मन्त्री थापाले तत्काल प्रधानमन्त्रीलाई जानकारी गराएर राहत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए । दुई नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा खडेरीका कारण खाद्यान्न समस्या भएको छ ।