“चोकचोकमा हरियाली पार्क बने । साइकल र पैदल मार्गको सञ्जाल बढे । ठाउँ-ठाउँमा पुस्तकालय खोलिए । भरपर्दो सार्वजनिक यातायात चल्न थाले । सहरले सास फेर्न खुला स्थान पायो । जमिनले रिचार्ज हुन पायो । सिमेन्ट र अलकत्राबाट शहर जोगाउन जनस्तरदेखि क्रियाशीलता बढ्यो ।”
काठमाडौंवासीले काठमाडौको बारेमा यस्ता कुरा गरे भने ? छोड्नुहोस्, यो ज्यादै काल्पनिक प्रसंग हुन् पुग्यो ।
एउटा वास्तविक प्रसंगबाट कुरा शुरु गर्यौं क्यारे- एक व्यक्ति शहर आएछ । बसबाट ओर्लिएछ । फुटपाथ हुँदै हिड्न खोजेछ तर सकेनेछ ।अनि सुईसुई मूल सडकको बाटो समातेछ । त्यति नै खेर उसलाई ट्राफिक प्रहरीले समातेछ ।
ट्राफिक प्रहरी- “के हो भाइ फुटपाथबाट हिँड्नुपर्छ भनेर थाहा छैन ?”
व्यक्ति – “थाहा नभएर होइन हजुर ।
ट्राफिक प्रहरी – “अनि किन नहिडेको त ? हिड्न पर्दैन ?
व्यक्ति- “पर्थ्यो !”
ट्राफिक प्रहरी- “खुरुक्क फुटपाथमा जानुहोस् । फुटपाथबाट हिड्ने बानीको विकास गर्नुहोला ।”
व्यक्ति – “बानी त विकास गरौंला के सर । हामी फुटपाथमै अट्दैनौं अनि के गर्नु त ?
हो, काठमाडौ यस्तै छ । यहाँका फुटपाथमा पैदल यात्रीहरु अट्दैनन् । अपांग/अशक्तहरुलाई ह्विलचियर गुडाउन मनाही छ । एक-अर्कासँग नजुधिकन, नठोक्कीइकन हिड्नु असम्भवप्राय भइसको छ । अफिस टाइममा फुटपाथमा हिड्दा बिजुली/खानेपानीको लाइन बसे जस्तो भान हुन्छ ।
राजधानीको मुटु हो- कोटेश्वर । उपत्यका भित्रका मात्रै नभई उपत्यका बाहिर आउजाउ गर्नेहरुको भिड लाग्ने ठाउँ हो यो । त्यसबाहेक उपत्यकाको व्यस्त दैनिकीको थिचोमिचो सहेर बाचीरहेको छ – यस बजार/चोक । कुनै समय पनि शान्त रहँदैन् कोटेश्वर । अबेर राति पनि चिया उमालेर जागाराम बसिरहेको हुन्छ । लामो/छोटो दुरीको यात्रा र यात्रुले बिहान ४ बजे देखि राती ८ बजेसम्म सास फेर्न सम्म दिँदैन् । दिनभर सडक देखि फुटपाथसम्म मानिसको हानथाप चल्छ । हताशा र अत्यासलाग्दा दैनिकीको चपेटा लगातार चेपिइरहेको छ कोटेश्वर ।
भाँडा पसल, लुगा, इलेक्ट्रोनिक ग्याजेट, जुत्ता/चप्पल/ खानाका ठेला देखि जुत्ता सिउने/मेहन्दी लगाईदिने/ दाँत टल्काइदिने/कार्पेट सफ्फा गरिदिनेहरुको ‘मात्र मुल्य व्यपार’ले भिडभाडको साथसाथै होहोल्ला मच्चाईरहेकै भेटिन्छ । कोटेश्वर चोकमा दिउँसो ३ बजेपछि पाइलो राख्ने ठाउँ भेट्न मुस्किल छ । फुटपाथ व्यापारीले कोटेश्वर चोक पुरै कब्जा गरिदिन्छन् । बिहानको ५:०० बजेदेखि ९:०० बजेसम्म र दिउँसोको ३ बजेदेखि रातको ८:०० /८:३० बजे सम्म कोटेश्वर फुटपाथ व्यापारीहरुको घेरामा रहन्छ ।
फुटपाथ पसल व्यवस्थापनका लागि खटाइएका काठमाडौ महानगरपालिका अन्तर्गत नगरप्रहरी पनि फुटपाथको भीडमा देखिन्छन् । तर उनीहरु उनीहरू फुटपाथ व्यापार व्यस्थापन गर्न होइन सोहि फुटपाथ व्यपारीबाट पान/पराग किनेर अर्को व्यक्तिको कुर्कुच्चामा थुकीरहेका हुन्छन् । नगरप्रहरीहरु साँझपख बसपार्कछेउ उभिएर गफ गरिरहेका भेटिन्छन् ।
फुटपाथ व्यापारका कारण चोक अशोभनीय त देखिएको छँदै छ, अस्वस्थ, वृद्धवृद्धा, गर्भवती, केटाकेटी र शारीरिक अपांगता भएकाहरुलाई निकै कष्टकर जीवन व्यतित गरिरहेका छन् । पैदल यात्रुका लागि निमार्ण गरिएको फुटपाथमा व्यपारीहरुको व्यापार थलो बनेपछि पैदल यात्रु मूल सडबाट हिड्न बाध्य छन् ।
नेपालको सडक मापदण्ड, २०७० (संशोधित) भएको छ । नयाँ मापदण्ड अनुसार व्यस्त ठाउँमा कम्तिमा १.५ मिटर फुटपाथ हुनुपर्ने हुन्छ ।फुटपाथमा मान्छेको चाप अनुसार चौडाई बढाउनु पर्ने हुन्छ । ५ सयभन्दा बढी मानिस आवतजावत गर्ने सडकमा १.५ मिटर चौडाईको फुटपाथ हुनुपर्ने मापदण्ड रहेको छ । त्यस्तै १५ सय जना हिँड्ने सडकमा भने २ मिटरको फुटपाथ हुनुपर्ने व्यवस्था छ । ३५ सय मानिसले प्रयोग गर्ने ठाउँमा ३ मिटर चौडाइको फुटपाथ हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
विश्वव्यापी रुपमा फुटपाथको चौडाई ४ मिटर हुनु पर्ने मापदण्ड रहेको छ । तर, हरेक ठाउँमा सोहि मापदण्ड अनुसार फुटपाथ निर्माण सम्भव नभएकाले कम्तिमा १.२ देखि १.५ मिटरको सम्मको फुटपाथ निर्माण गर्नुपर्ने व्यवस्था रहेको छ ।
एक अध्ययनअनुसार राजधानीमा ४० प्रतिशतभन्दा बढी पैदलयात्रु छन् । उसो त चीन सरकारको सहयातामा भर्खरै निर्माण सम्पन्न भएको यस कलंकी-कोटेश्वर सडकखण्ड स्थानीय र पैदलयात्रुका लागि बनाइएकै होइन भन्दा फरक पर्दैन । यस चोकमा ५० कि.मी. को दरले गाडी हाक्न मिल्ने व्यस्था अनुरुपको सडक डिजाइन भइ निर्माण सम्पन्न भइकन सरकारलाई हस्तान्तरण समेत भइसकेको अवस्था छ अहिले । जसको कारण बेलाबेलामा दुर्घटना समेत हुने गरेको पाइन्छ ।
कानुनत: यसरी सडक पेटीमा व्यापार गर्न नपाइने भएपनि प्रशासनको आँखा छलेर व्यापारीहरुले मनलाग्दी कतै ठेला, साइकल त कतै भुइमै पसल थापेर सामान बेचिरहेका छन् । यसरी व्यापार गर्नेहरुलाई हटाउन प्रशासनले विगतमा पटक पटक प्रयास गरेपनि त्यो सफल हुन सकेको छैन ।
आम मानिसको आग्रह र सरकारी तवरको दबाब पश्चात ०७१ सालको मंसिर महिनामा सरकारले काठमाडौंलाई अस्तव्यस्त बनाएको भन्दै फुटपाथ पसलहरुले फुटपाथबाट हटाउन आग्रह गर्यो/जबर्जस्ती नै पनि गर्यो । तर फुटपाथ व्यापारीहरु टसको मस भएनन् । पटक–पटक कारबाही गर्दा पनि फुटपाथ व्यवसायीले नटेरेपछि नयाँ नियम जारी गर्दै जफत गरिएको सामान फिर्ता नदिइ ति सामानहरुलाई लिलाम समेत गर्यो । त्यतिबेला १७ हजार फुटपाथ हटाउने कार्य गरेको घोषणा गरेको थियो । तथापी त्यसको केहि समयपछि नै फुटपाथ पुरानो अवस्थामा अर्थात् अस्तव्यस्त भइहाल्यो । काठमाडौंको रत्नपार्क, सुन्धारा, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, कालिमाटी, स्वयम्भु, बालाजु र गोंगबु क्षेत्रमा विशेष गरी बाटो पुरै छेकेर फुटपाथ पसल थाप्ने प्रवृत्ति त्यस यता लगातार यी क्षेत्रहरुमामा ट्राफिक व्यवस्थापन कठिन गराउदै आइरहेको छ ।
सानो लगानीमा सजिलै परिवारको आवश्यकता पूरा गर्न सकिने भएकाले काठमाडौंमा फुटपाथ व्यवसायीहरू दिनानुदिन बढिरहेका छन् । सडकमा व्यापार गर्दा भाडा तिर्नु नपर्ने र सरकारलाई कर पनि तिर्नु नपर्ने भएकाले अधिकांश निम्नवर्गीय नागरिकहरू फुटपाथको व्यापारमा आकर्षित भएका हुन् । सानो पुँजीबाट पनि सडक व्यापार गर्न सकिने र पारिवारिक आवश्यकता त्यसैबाट पूरा गर्न सकिने भएपछि निम्न आय भएका मानिसहरू यस व्यवसायमा संलग्न हुन स्वाभाविकै हो ।
व्यापारीहरु सडकमा पसल थापेर बस्नु आफुहरुको रहर नभई बाध्यता भएको भन्दै सरकारसँग उपयूक्त स्थानको व्यवस्था मिलाईदिन आग्रह गरिरहका छन् । फुटपाथ व्यापार नै जिवीकोपार्जनको आधार भएको भन्दै सरकारले वैकल्पीक स्थानको व्यवस्था नगरुन्जेल सम्म फुटपाथ नछाड्ने बताउछन् ।
एकातर्फ सरकारी दबाब अर्कोतर्फ बाध्यता, आजको दिनसम्म फुटपाथ व्यापारीहरु आन्दोलित बनिरहेका छन् । आन्दोलनमात्रै निकास हैन । सधैँ आन्दोलन गरेर समयलाई बर्वाद पार्नुभन्दा जिम्मेवारी व्यवसायी बनी राज्यलाई विकसित र समृद्व बनाउने अभियानमा लाग्न पर्दछ । सरकारले पनि अविलम्म निश्पक्ष छानविन गरी देश भर रहेका फुटपाथ व्यापारीहरुको विवरण संकलन गर्दै उनीहरुको माग पुरा गर्न पर्दछ । साथै फुटपाथ व्यापारीहरु पनि सरकारसँग जिम्मेवार ढंगले प्रस्तुत हुँदै आफ्नो कमजोरीहरुमा र आचरणमा सुधार गर्न पर्दछ ।