Logo

पौराणिक कथा : सोह्र सोमबारको व्रत यसकारण बसिन्छ !



Spread the love

 

काठमाडौं । श्रावण महिना भगवान शिवको प्रिय महिना हो । श्रावण महिनामा वर्षभरिकै सबैभन्दा बढी पानी पर्ने गर्छ । यो विश्वास गरिन्छ कि यस महिनामा शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्दछ। उनको घाँटीमा रहेको कालकुट विषको तापमानमा पनि गिरावट आउने आम विश्वास रही आएको छ ।भगवान शिवले सनतकुमाहरुलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन – मेरा तीन आँखामध्ये दाहिने आँखा सुर्य, बायाँ आँखामा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन।यस महिना भगवान शिव खुसि हुन्छन् । यसैकारण यस महिनामा व्रत, दान एवं पुजा-पाठ गर्नु उत्तम मानिन्छ ।

देशभरीका विभिन्न शिवालयमा आज साउनको पहिलो सोमबार हजारौँ हिन्दू भक्तजनको भीड लागेको छ। बेलपत्र, धतुरोका दाना, मह, घिउ, दही आदिसमेत शिवालयमा चढाई भगवान् शिवबाट आशीर्वाद प्राप्त गर्न भक्तजनको शिवालयमा भीड लागिरहेको छ ।

सोह्र सोमबारको व्रत बस्नाले महिलाले सुन्दर सुशील पति पाउछिन् भने पुरषले पनि सुन्दर शुशील पत्नी पाउने आम विश्वास रहीआएको छ । यस महिनामा भगवान शिवको पुजा आराधाना गर्दा समस्त तेत्तिस कोटी देवी देवताको दर्शन मिल्छ ।

पुराणहरुमा मुख्य तीनथरी व्रतको चर्चा पाइन्छ । ती हुन्– साउने सोमबार, सोह्र सोमबार एवं सोह्र पद्रोस । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत विधि सूर्योदय देखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रर्त गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने विश्वास छ । आउनुहोस् कथा शुरु गर्यौं:

सोमबारको विशेष कथा:

एक समयको कुरा हो । श्रावण महिना कै समय थियो । विभिन्न सन्त ऋषि एवम् धर्म गुरुहरु क्षिप्रा नदि किनारमा महाकाल शिवको अर्चना गर्दै स्नान गर्ने हेतुले जम्मा भएका थिए । सोहि ठाउँमा एक अभिमानी महिला तुच्छ विचारबाट प्रताडित भइ ऋषि मुनिहरुको धर्म भ्रष्ट गर्ने मनाशयले सोहि नदि किनारमा पुग्छिन् ।

यद्दपी नदि किनारमा पुग्नासाथ ऋषिमुनीहरुको जप-ध्यानको प्रभावका कारण उसको शरीरको मादकता एकाएक लुप्त हुन् पुग्छ । उसको कौमार्यको वासना उसको शरीरबाट हराउन पुग्छ। अक्समात आफ्नो सौन्दर्य हराएको देख्दा ऊ घोर आश्चर्यमा पर्छे। ऊ दयाभाव सहित आफ्नो शरीरको नियाल्छे । उसले आफू निकै घृणित र कुरूप पाउँछे ।

उसले आफ्नो शरीरलाई नियालीरहँदा उसलाई लाग्छ कि उसको दिमागमा बिस्तारै बिस्तारै परिवर्तन आउन् थालेको छ । उसको दुषित मन एकाएक सफा हुन् थालेको छ । उसलाई अहिलेसम्म आफूले गरेको कामप्रति घृणा जाग्छ । ऊ पश्चातापको आगोमा जल्न थाल्छे ।

ऋषि मुनीहरु यो सब देखिरहेका हुन्छन् । उक्त महिला ऋषिमुनीहरुको सामू पुगी- आफूलाई यस पापबाट मुक्त गराईदिन आग्रह गर्न थाल्छिन । उसको अनुनय विनय देखेर ऋषि मुनीहरुको मन फिर्छ । ऋषिमुनिहरुले एक विकल्प बताउँछन् । ” यदि तिमि सोह्र सोमबार व्रत बस्छौं त तिम्रो सबै पाप पखालिन्छ । जुन सोह्र सिंगारको अभिमानले ओतप्रोत भएर अहिलेसम्म जुन-जुन साधु सन्तको धर्म भ्रष्ट गर्यौं । त्यसको एक मात्र विकल्प भनेको यै हो- तिमी सोह्र सोमबारको व्रत बस साथै भगवान शिवको नित्य पुजा गर।”

उक्त महिलाले ऋषिमुनीहरुले भने बमोजिम  नै गर्न थाल्छिन् । आफ्नो पापको प्रयाश्चितको लागि उनी शिव लोक पुग्छिन। भगवान शिवको कृपाबाट उनको समस्त पाप पखालिन्छ । त्यसपश्चात आफ्नो आचरण शुद्धताको लागि उनी १६ सोमबारको पावन व्रत लिन थाल्छिन्।

प्रतिक्रिया दिनुहोस्