२९ असार, खोटाङ – अविरल वर्षाका कारण पहिरो झरेपछि मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने दिक्तेल–हलेसी–जयरामघाट सडक अवरुद्ध भएको छ । बिहीबार रातिबाट परेको अविरल वर्षापछि सो सडकखण्डको विभिन्न ठाउँमा पहिरो झरेका कारण तीन दिनदेखि यातायात सेवा अवरुद्ध भएको हो ।
राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने एक मात्र विकल्प रहेको सो सडकको २५ स्थानमा ठूलाठूला पहिरो झरेको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले बताए । “पहिरो पन्छाउन नगरपालिकाको जेसिभी र मानवीय शक्ति खटाइएको छ”, उनले भने, “पहिरोले ठूलो क्षति पुर्याएकाले पन्छाउन कम्तिमा पनि तीन÷चार दिन लाग्ने सम्भावना देखिएको छ ।”
सडक अवरुद्ध भएपछि दिक्तेलबाट राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जाने र आउने यात्रुहरु बाटैमा बिचल्ली भएका छन् । कटारी–घुर्मी र हर्कपुर–जयरामघाट सडकका विभिन्न ठाउँमा पहिरो झर्दा तराईका जिल्लाबाट दिक्तेल आउने तथा दिक्तेलबाट बाहिरीने यात्रुहरु बीचमै अलपत्र परेका छन् ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मानेभञ्ज्याङको भँडारेखोलामा बाढीको लेदो आएर थुप्रिदा काठमाडौँबाट खोटाङ, सोलुुखुम्बु र ओखलढुङ्गा आवतजावत गर्ने सयौँ सवारी साधन र यात्रु बीचैमा अलपत्र छन् । चार दिनदेखि लगातार वर्षा भइरहेपछि जिल्लाको ग्रामीण सडकमा चल्ने सबै यातायात सेवा बन्द भएको छ ।