२८ असार, काठमाडौं । कप्तान पारस खड्काले सानदार ब्याटिङ गर्दै कीर्तिमानी इनिङ खेलेसंगै नेपालले मलेसियाविरुद्ध पहिलो खेलमा जित निकालेको छ ।
टी-ट्वान्टी सिरिजअन्तर्गत शनिबार बिहान किनारारा ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
१२९ रनको विजयी लक्ष्य पछाएको नेपालले १८ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । नेपालको जितमा कप्तान पारस खड्काले ५० बलको सामना गर्दै ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । त्यस्तै शरद भेषाकरले १६, ज्ञानेन्द्र मल्लले ७, प्रदीप ऐरीले ८ र रोहित कुमार पौड्यालले ५ रन बनाए ।
मलेसियाका लागि अनुवर रहमानले दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो । उसका लागि ओपनर विरनदीपले सर्वाधिक ५७ रनको जोडे ।त्यस्तै, अहमेद फैजले ४५ र फित्री शामले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि करन केसीले चार ओभर बलिङ गर्दै २७ रन दिएर तीन विकेट हात पारे । त्यस्तै सन्दीप लामिछाने र बसन्त रेग्मीले २।२ विकेट लिए भने सोमपाल कामीले एक विकेट हासिल गरे ।