Logo

भोजपुरमा कम वर्षा : कम रोपाइँ



Spread the love

 

२४ असार,भोजपुर ।  असार महीना बित्न लाग्दा भोजपुरमा ५८ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ ।

यस वर्ष कम वर्षा भएको कारण जिल्लाको कूल धान फल्ने १८ हजार २०० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५८ प्रतिशत रोपाइँ सकिएको कार्यालयको भनाइ छ । धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यता छ भने ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको कृषि प्राविधिक युगमणि भट्टराईले जानकारी
दिए ।

गत वर्षको तुलनामा यस वर्ष करीब एक हजार खेतीयोग्य जमीनमा कृषकले अन्य बाली लगाएको कार्यालयको भनाइ छ । बढ्दो वैदेशिक रोजगारीसँगै शहरकेन्द्रित बसाइँसराइ र अलैँचीलगायतका विभिन्न बालीतर्फ किसान आकर्षित भएका कारण खेतीयोग्य जमीन घट्दै गएको प्राविधिक भट्टराईको भनाइ छ । केही वर्षयता कृषक परम्परागत धान बालीको सट्टा बढी प्रतिफल दिने अलैँची, रुद्राक्ष, सुन्तलालगायतका बाली लगाउनेतर्फ आकर्षित हुन थालेका छन् ।

गत वर्ष भोजपुरमा ३२ हजार मेट्रिकटन धान उत्पादन भएको तथ्याङ्क छ । जिल्लाको ७०० हेक्टरमा हिउँदे र वर्षे धान हुने गर्दछ भने अन्य ठाउँमा वर्षे धान हुने गर्दछ । असार बित्न लागे पनि निरन्तर वर्षा नभएकाले गत वर्षको तुलनामा यो वर्ष कम मात्र रोपाइँ भएको कार्यालयको भनाइ छ । वर्षाका कारण गत वर्षको तुलनामा यस वर्ष धानखेती कम हुनसक्ने कार्यालयले जनाएको छ । ( रासस )

प्रतिक्रिया दिनुहोस्