Logo

तराईभन्दा पहाडमा गर्मी



Spread the love

२३ जेठ,काठमाडौं- कुनै बेला गर्मी छल्न तराई र भित्री मधेसबाट पहाड उक्लिने चलन थियो । तर अहिले पहाडी गाउँमै अत्यधिक गर्मी हुन थालेको छ । तीन दिन यताको उखरमाउलो गर्मीले अछामका स्थानीयवासी दिउँसो बाहिर निस्कन छाडेका छन् । बजारमा चहलपहल घटेको छ । चोक, चौतारा र चियापसल पनि सुनसान भएका छन् ।
अाजको राजधानी दैनिकमा खबर छ– ‘जस्तोसुकै अप्ठ्यारो परे पनि दिउँसो घरबाहिर निस्कन सकिन्नँ,’ मेल्लेख अछामका ७१ वर्षीय भोजराज सुनारले भने, ‘यस्तै गर्मी रहिरहे ज्यान बचाउनै गाह्रो पर्लाजस्तो छ ।’
पहाडमा यति धेरै गर्मी पहिलोपटक महसुस गरेको उनले बताए । गर्मी छल्न धारा, पँधेरा र नदीमा मानिसको भीड लाग्ने गरेको छ । पानी नपर्दा अछाम, डोटी र बाजुरा जिल्लाको जनजीवन गर्मीले अस्तव्यस्त बनेको छ ।
तराईमा गर्मी बढेपछि चिसो खोज्दै पहाड उक्लिएका मंगलसैन–१३ का ८० वर्षीय अर्जुनबहादुर धामी पहाडको उकुसमुकुसले झन् छटपटीमा छन् । ‘पहाडमा यति धेरै गर्मी हँुदा अचम्म लागेको छ,’ उनले भने, ‘पहिलेपहिले वैशाखजेठमा पनि पहाडमा जाडो हुने गथ्र्यो । तर यो वर्ष तराईभन्दा झन् धेरै गर्मी छ ।’ अछामको साँफेबगर, चित्रे, कैलाशखोला, बेलखेत र कोल्लीमोरामा अत्यधिक गर्मी बढेको छ ।
बाजुरामा कोल्टी, कुल्देवमान्डौ र बाह्रबीसमा खपिनसक्नुको गर्मीले हिँडडुल गर्नै मुस्किल भइरहेको स्थानीय किशोर पौडेलले बताए ।‘बाहिर निस्कनै परे छाता ओढ्नुपर्छ,’ पौडेलले राजधानीसँग भने, ‘गर्मीले राति होस् या दिउँसो, जनजीवन आक्रान्त छ ।’
घामले पोल्न थालेपछि मेलापात, घाँसदाउरा र खेतबारीको काम पुरै ठप्प छ । दीपायल डोटीका राजाराम विश्वकर्मा भन्छन्, ‘गत वर्ष यस्तो गर्मी थिएन, अहिले त साह्रै भो, आगोको रापभन्दा कम गर्मी छैन ।’
गर्मीकै कारण विभिन्न रोगको संक्रमण बढेपछि अस्पतालमा बिरामीको भीड लागेको छ । झाडापखाला, आउँ, ज्वरो तथा आँखा पाक्ने रोगका बिरामी बढेको जिल्ला अस्पताल अछामका डाक्टर सुवास लामिछानेले बताए ।
मनसुन सुरु हुने बेला परेको खडेरी र चढ्दो गर्मीका कारण किसानले धानको ब्याड राखेका छैनन् । वनजंगल नासिनु, चाहिनेभन्दा बढी सडक खन्नु र जलवायु परिवर्तनका कारण यस्तो असर देखिएको बूढापाकाको बुझाइ छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दीपायल र साँफेको तापक्रम बढेर ४२ डिग्री सेल्सियसको पुगेको छ । जबकि धनगढी र नेपालगन्जकै तापक्रम ४१ डिग्रीभन्दा कम छ ।
तराईको तुलनामा पहाडमा तापक्रम वृद्धिदर बढिरहेको विभागको तथ्यांकले देखाएको छ । विभागका मौसमविद् मीनकुमार अर्यालका अनुसार तापक्रम वृद्धिदर पहाडमा औसत शून्य दशमलव शून्य ६ डिग्री सेल्सियस र तराईमा शून्य दशमलव शून्य ४ रहेको छ । ‘समुद्री सतहबाट ३ सय मिटर माथि पहाडसम्म गर्मी हुनु सामान्य हो,’ उनले भने, ‘अन्य ठाउँमा तापक्रम नबढ्नुपर्ने । तर पछिल्ला केही वर्षयता मध्यपहाडी क्षेत्रमा पनि असाध्यै गर्मी बढेको छ ।’ अप्रत्यासित रूपमा बढेको गर्मी मनसुन सुरु नहुँदासम्म कायमै रहन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्