९ असार, काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणबाटै दक्षिण अफ्रिका बाहिरिएको छ । आइतबार राती पाकिस्तानसँग ४९ रनले पराजित भएपछि अफ्रिकाको शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना लिग चरणका दुई खेल अगावै समाप्त भएको हो ।
७ खेलमा १ मा जित र ५ खेलमा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिकाले बाँकी दुबै खेल जितेपनि सेमिफाइनलमा पुग्न सक्दैन । ६ खेलमा ६ मा नै पराजित हुँदै पुछारमा रहेको अफगानिस्तान पनि तीन खेल अगावै लिग चरणबाट बाहिरि सकेको छ ।
पाकिस्तानले दिएको तीन सय ९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ५९ रनमा नै अल आउट भयो । दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले अर्धशतक बनाए । क्विन्टन डी ककले ४७, एन्ड्ली फेलुक्वायोले ४६, रासी भान डल डुसेनले ३६ र डेभिड मिल्लरले ३१ रन बनाए ।
पाकिस्तानका सदाव खान र वाहव रियाजले तीन तीन विकेट हात पारे । मोहम्मद आमिरले दुई तथा साहिन अफ्रिदीले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ८ रन बनाएको थियो । पाकिस्तानका लागि हरिस सोहेलले सर्वाधिक ८९ रन बनाए । बाबर आजमले ६९ बनाए । सुरुवाती ब्याट्सम्यान इमाम उल हक र फाखर जमानले ८१ रनको साझेहारी गरे । दुवै जनाले समान ४४ रन बनाएका थिए । इमाद वासिमले २३ र मोहम्मद हफिजले २० रन बनाए ।
दक्षिण अफ्रिकाका लुन्गी निग्दीले तीन विकेट लिए । इमरान ताहिरले दुई तथा अइडन मार्कम र एन्ड्ली फेलुक्वायोले एक एक विकेट हात पारे ।
प्रतिक्रिया दिनुहोस्