३ असार ,कायरो। इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ ।
कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढल्नु भएका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरुले जनाएका छन् । सन् २०१३ मा सैनिक शासकद्धारा अपदस्थ गरिएका मोर्सीको निधनका बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन गर्न अधिकारवादी समूहहरुले माग गरेका छन् ।
मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मोर्सीको निधनबारे निस्पक्ष छानबिनको माग गरेको हो ।
हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहार गरेकाले उनको निधन भएको हुनसक्ने एमनेस्टीको आशंका छ ।
मुस्लिम ब्रदरहुड दलले भने आफ्नो दलको नेताको निधनलाई हत्याको संज्ञा दिएको छ । राज्यद्धारा सञ्चालित टेलिभिजनले श्रोतहरुलाई उद्धृत गर्दै ६७ वर्षीय मोर्सीको मुटु सम्वन्धी समस्याका कारण निधन भएको जनाएको छ ।
उनि इजिप्टको पहिलो नागरिक राष्ट्रपति मानिन्छन् । उनले आफ्नो जीवनकालमा विदेशीशक्ति, लडाकू समूह, न्याय क्षेत्र र सुरक्षा क्षेत्रसँग समेत ओजपूर्ण सम्वन्ध राखेका उनका निकटस्थहरुले जनाएका छन् ।
“अदालतले बोल्न अनुमति दिएको पाँच मिनेटमै उनि ढले, त्यसपछि तत्कालै उनलाई अस्पताल लगियो, तर अस्पतालले उनको निधन भइसकेको घोषणा ग¥यो” न्यायधिवक्ताको कार्यालयले भनेको छ ।
“उनलाई स्थानीय समयानुसार अपरान्ह ४।५० मा अस्पताल ल्याइएको थियो, त्यतिबेला उनको निधन भइसकेको थियो, शरिरमा घाउचोट देखिएको छैन,” अस्पताल श्रोतले भन्यो ।
उनका कारण अदालती कारबाहीमा बाधा नपुगोस भनेर उनलाई बाहिरको आवाज सुन्न नसकिने सिसाको पिँजडाभित्रबाट बयान दिन लगाइएको थियो । उनि सन् २०१२ को निर्वाचनमा राष्ट्रपति पदमा निर्वाचित भएको एक वर्षमै अपदस्थ भएदेखि नै उनलाई आफ्ना परिवार तथा वकिलसँग समेत निकै कम मात्र भेट हुनेगरी कारागारमा राखिएको थियो ।
जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिन उनि अदालत उपस्थित भएका थिए ।
उनलाई अन्य तीन मुद्दाको निर्णयबमोजिम ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो । तर उनको समर्थकहरूले भने ती मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप लगाउँदै आएका छन् । उनको निधनप्रति धेरैले आशंका गरेकाले हिंसा भड्िकन सक्ने पुर्वानुमानसहित सरकारले इजिप्टमा सुरक्षा व्यवस्था थप कडा बनाएको छ । रासस