३ असार, काठमाडौं । बंगलादेशले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजमाथि ऐतिहासिक जित निकालेको छ । सोमबार राती वंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो ।विश्वकपमा बंगलादेशले वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो ।
३ सय २२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ४१.३ ओभरमा ३ विकेटको क्षतिमा सहजै पुरा गर्यो । बंगलादेशको जितमा शकिव अल हसनले शतकीय पाली खेले । शकिवले अविजित १२४ रन बनाएका थिए । सकिवको जारी विश्वकपमा दोस्रो शतक हो । उनले इङ्ल्यान्डविरुद्धको खेलमा पनि शतक बनाएका थिए । लिटोन दासले अविजित ९४ रनको योगदान दिए । शतकबाट ६ रनले टाढा रहेका लिटोनले ६९ बलमा चार छक्का र आठ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । तमिम इकबालले ४८ रन बनाए । ५३ बलमा उक्त रन जोडेका इकबालले ६ चौका हानेका थिए । शौम्य सरकारले २९ रन जोडेका थिए ।
वेस्ट इन्डिजका आन्द्रे रसेल र ओसेन थोमसले एक एक विकेट लिए ।
टाउन्टनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो।
वेस्ट इण्डिजका लागि सबभन्दा धेरै रन विकेटकिपर ब्याट्सम्यान शाइ होपले बनाए। उनले ९६ जोडे। तर उनी सतक प्रहार गर्नबाट भने चुके। त्यस्तै, इभिन लुइसले ७० रन बनाए भने सिमोरन हेटमेयरले ५० रन जोडे।
बंगलादेशका मुस्ताफिजुर रहमान र मोहम्मद सैफद्धिनले समान ३-३ विकेट लिए। सकिबल हसनले दुई विकेट लिए।
जितसँगै बंगलादेशले ५ खेलबाट ५ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ भने वेस्ट इण्डिज सातौं स्थानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्