२४ जेठ, काठमाडौं । विश्वकप खेलमा अस्ट्रेलियासँगको हारको कारण अम्पायरको खराब निर्णय रहेको वेस्ट इन्डिजका अलराउण्डर कार्लोस ब्रेथओएटले बताएका छन् ।
बिहीबार अस्ट्रेलियासँगको खेलमा २८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ओभरको समाप्तिमा ९ विकेट गुमाउदै २७३ रन मै समेटियो । खेलपश्चात क्रिकेट जानकारहरुले अम्पायरको निर्णयप्रति आलोचना ब्यक्त गरिरहेका छन् । अम्पायरको खराब निर्णयपछि पनि टिम सम्हालिएर खेलिरहेको तर , यस्ता निर्णयले खेलमा ठूलो असर गर्ने ब्रेथवेटले बताए ।
‘मलाई थाहा छैन यो भन्न मिल्छ कि मिल्दैन तर अम्पायरको निर्णय असाध्यै खराब रह्यो । लगातार तीन निर्णय खराब हुनु भनेको विश्वकपमा कति दुःखद होला त ?’ उनले भनेका छन् ।
आफूहरुको बलिङको समयमा पनि २४ वाइड दिनुमा अम्पायरको कतिपय निर्णय खराब रहेको ब्रेथवेटले बताए । ‘मलाई माफ गरिदिनु होला, तर भन्नै पर्छ यस्तो निर्णयले क्रिकेटलाई राम्रो गर्दैन, प्याडमा लाग्न पाएको छैन, अम्पायरको औँला आउटमा उठिसकेको हुन्छ, अचम्म छ । तर हाम्रो बलिङको बेला विपक्षीको प्याडमा बल लाग्दा भने अपिल नै गर्दा पनि कुनै वास्ता छैन’ उनले भने ।