सुभेन्द्र दास, लहान, सिराहा ।
जिल्ला प्रहरी कार्यालय सिराहामा हालै हाजिर हुनुभएका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले ‘सुरक्षित सिराहा , भयमुक्त सिराहा’ नारालाई सार्थकता दिने उद्देश्यका साथ आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चार दिन अघि मात्र सरुवा भएर सिराहा आएका उनले कार्यालयमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
आफूले पाएको जिम्मेवारी वहन गर्न कुनै कसर बाँकी नराख्ने तथा मातहतका निकाय तथा प्रहरीसमेत चुस्त दुरुस्त रूपमा जनताको सुरक्षाका लागि परिचालित रहने बताउँदै एसपी चतुर्वेदीले भने ‘‘सुरक्षित सिराहा, भयमुक्त सिराहा’ नारालाई सार्थकता दिने उद्देश्यका साथ काम गर्ने मेरो प्रतिबद्धता छ, यसमा आम जिल्लावासीको सहयोग र सहकार्य आवश्यक छ ।
जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न एवम् अपराध नियन्त्रण गर्न र स्थानीय तहहरूबाट गरिने विकासको काममा बाधक बन्ने तत्त्वलाई कुनै पनि हालतमा छुट नदिने बताए । शान्ति सुरक्षा र अपराध नियन्त्रणको विषय सम्झौताहीन विषय भएकोले यसमा गलत मनसायले कसैसँग सम्झौता गर्न नसक्ने भन्दै त्यस्ता तत्त्वहरूलाई सचेत रहन चेतावनी दिए ।
प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गरी जिल्लामा घटित अपराधको निष्पक्ष, न्यायिक एवम् वैज्ञानिक अनुसन्धान गर्ने, सीमा अपराधलाई न्युनिकरण गर्दै साना तथा अवैध हातहतियारको कारोबार नियन्त्रण गर्ने, भारतीय नम्बर प्लेटका सवारी साधन कानुन उल्लङ्घन गरी प्रयोगमा ल्याइएको पाइए कानुनी दायरामा ल्याउने, भूमिगत समूहको नाममा हुने अपराध, तस्करी, लागु औषध विरुद्ध सशक्त कारबाही गर्ने तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सघन रूपमा अघि बढाइने लगायतका योजनाहरू समेत एसपी चतुर्वेदीले सार्वजनिक गरे ।
प्रहरी कार्यालयलाई चाहिने जनशक्ति, भौतिक पूर्वाधार र साधन श्रोतको कमी भएको चर्चा गर्दै त्यसका बाबजुद पनि प्रहरीले भ्याएसम्म शान्ति सुरक्षाका लागि अहोरात्र खट्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पत्रकारहरूले नव आगन्तुक एसपी शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका थिए ।