Logo

अफ्रिकाको भोकमरी, युएनद्वारा सहयोगको घोषणा   



Spread the love


२३ जेठ, नैरोबी।  संयुक्तराष्ट्र संघले अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सघाउन चार करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने बुधबार घोषणा गरेको छ ।

राष्ट्रसंघका आपतकालीन सहायता संयोजक एवं उपमहासचिव मार्क लोककले सोमालिया, इथियोपिया र केन्याका सुख्खाग्रस्त क्षेत्रका जनतालाई उक्त सहयोग गरिने बताउनुभयो । अफ्रिकाका यी देशका कतिपय भेगमा सुख्खाका कारण खाद्यान्नको चरम सङ्कट उत्पन्न भएको छ ।

लोककले जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रसंघले निरन्तरको सुख्खाबाट प्रभावितको मृत्यु र मानवीय सङ्कटमा सहयोग गर्न चाहेको उल्लेख छ ।

लोककले राष्ट्रसंघको बजेटमध्ये सोमालियाका लागि तीन करोड छुट्याइएको बताउनुभयो । सोमालियामा आगामी सेप्टेम्बरसम्ममा चरम खाद्य असुरक्षाबाट करिब २२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

यस्तै, करिब १ करोड अमेरिकी डलर सोमालियाको छिमेकी मुलुक इथियोपियामा खर्च हुनेछ । यहाँ सन् २०१६ र २०१७ को झै विषम मौसमी अवस्था रहेको र सुख्खाबाट चरम खाद्य संकट उत्पन्न भएको छ ।

लोककले तीन देशले भोग्नु परेको विषयम खाद्य संकट र अन्य मानवीय सहायतामा ध्यान दिन अन्य दातृ निकायहरुलाई पनि आग्रह गर्नुभएको छ ।

करिब ५० लाख अमेरिकी डलर भने केन्या सरकारको खाद्य सुरक्षा कार्यक्रमका लागि उपलब्ध गराइने राष्ट्रसंघले जनाएको छ ।
––  रासस

प्रतिक्रिया दिनुहोस्