प्रत्येक गाउँलाई ‘स्मार्ट गाउँ’ बनाउने र ‘एक गाउँ एक उत्पादन’को लक्ष्यसहित नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचन–२०७४ का लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष विजयकुमार गच्छदारले आइतबार पत्रकार सम्मेलन गरी ‘नमस्कार’ चिह्नमा मतदान, उम्मेदवारलाई विजय गराउने हाम्रो अभियान : स्थानीय तहलाई आत्मनिर्भर, सुशासित र जनमुखी बनाउने हाम्रो मुख्य अरमान’ मुख्य नारा रहेको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
११ पृष्ठ लामो प्रतिबद्धतापत्रमा स्थानीय निर्वाचनमा लोकतान्त्रिक फोरमका उम्मेदवारलाई मत दिनुपर्ने कारण २६ बुँदामा राखिएको छ ।
प्रतिबद्धतापत्रमा प्रत्येक गाउँपालिका र नगरपालिकाका जनताको इच्छा, प्राथमिकता, व्यावसायिकता र सम्भाव्यतालाई ध्यानमा राखी स्मार्ट गाउँ बनाउने उल्लेख छ । उदाहरणका रूपमा कुखुरा गाउँ, बङ्गुर गाउँ, खसी गाउँ, पशुपालन गाउँ, गाई गाउँ, तरकारी गाउँ, आलु गाउँ, उखु गाउँ, स्याउ गाउँ, सुन्तला गाउँ, आँप गाउँ, केरा गाउँ, फलफुल गाउँ आदि बनाइने उल्लेख गर्दै प्रतिबद्धतापत्रमा सो व्यवसाय गर्न स्थानीय तहबाट विशेष आर्थिक र प्राविधिक सल्लाह र सहुलियत उपलब्ध गराउन अग्रणी पहल गर्ने, गाउँका युवाहरूका लागि फ्री वाइफाइजोन बनाउने योजना समेटिएको छ ।
त्यस्तै, स्थानीय सरकारले कृषि क्षेत्रको वैज्ञानिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउने, व्यापारीकरण र व्यवसायीकरण गरी कृषि उपजलाई बजारसँग जोड्ने, कृषि क्षेत्रमा विद्युतीकरण र जैविक मलको प्रयोगमा जोड दिने, सिँचाइ र शीतभण्डार (कोल्डस्टोर) व्यवस्था गर्नेलगायतका प्रतिबद्धता लोकतान्त्रिक फोरमले जनाएको छ । ग्रामीण र सहरी क्षेत्रमा साना तथा मझौलास्तरका कृषि र वनमा आधारित उद्योग निर्माण गर्ने एवं प्रत्येक नगरपालिका क्षेत्रभित्र चक्रपथको निर्माण गर्ने योजना पनि सो पार्टीको छ ।
स्थानीय स्तरमा डिजिटल प्रणाली सञ्चालनार्थ इन्टरनेट सेवा उपलब्ध गराउने, इभिलेजको निर्माण गर्ने, नेपालको आफ्नै सेटेलाइट निर्माणमा प्रयत्नशील रहँदै ग्रामीण भेकका जनतालाई सहर बजार, राजधानी र विदेशसित समेत जोड्दै घरघरमा विज्ञान प्रविधिको व्यापक उपयोगमा जोड दिने लोकतान्त्रिक फोरमले बताएको छ ।
त्यस्तै, स्थानीय स्तरमा साना र मझौलास्तरका जलविद्युुत् गृहहरूको निर्माण गरी आगामी पाँच वर्षभित्र घरघरमा बिजुली पु¥याउने र दश वर्षभित्र दश हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य उसको छ । पर्यटन क्षेत्रको विकास, पर्यापर्यटनमा प्राथमिकता, रज्जुमार्ग र लाइओभर मार्ग निर्माणलाई पनि चासो दिएर लोकतान्त्रिक फोरमले प्रतिबद्धतापत्र निर्माण गरेको छ ।
आठ प्रदेशको सङ्घीय संरचना बनाउने
तराई मधेसमा आन्दोलनमार्फत उठाइएका न्यायपूर्ण माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्न गराउन पार्टी लागिरहने भन्दै प्रतिबद्धतापत्रमा गणितको मतमा संविधानको घोषणा भएदेखि संविधान संशोधनको कुरा उठाइरहेको उल्लेख छ । संविधान कार्यान्वयन हुन संविधान संशोधन आवश्यक रहेको उसको भनाइ छ ।
सङ्घीयताको विषय छिनोफानो गर्न आठ प्रदेशको प्रस्ताव एउटा अचुक उपाय रहेको फोरमले उल्लेख गरेको छ । ‘सोह्रबँुदे सहमतिको एउटा बुँदा देशमा आठ प्रदेशको सङ्घीय संरचना थियो । त्यहाँ आठौँ प्रदेशका रूपमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर मिलाइ बनाउने उल्लेख थियो । आठ प्रदेशमा कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमा राख्ने समझदारीसमेत थियो । तर, ती सबै सहमति र समझदारीलाई उल्लंघन गरेर पुराना दलहरू विशेष गरी काँग्रेस र एमालेले घुमाउरो तथा षड्यन्त्रकारी तरिकाबाट सङ्घीय ढाँचा निर्माण गरेकाले द्वन्द्वको स्थिति कायम भएको उसको दाबी छ ।
मुख्य राजनीतिक दलबारे फोरम लोकतान्त्रिक
काँग्रेस : द्वैध र ढुलमुले
काँग्रेसको नीतिमा कहिल्यै स्पष्टता र स्थिरता आएन । काँग्रेसले जहिले पनि द्वैध र ढुलमुले चरित्र प्रदर्शन गर्दा नेपाली राजनीति अस्थिर र अन्योल रहने गरेको छ । ०४९ सालमा काँग्रेसले स्थानीय निकायको धेरै ठाउँमा जिते पनि जनताको चाहनाअनुसार काम गर्न सकेन । मुलुकलाई अपेक्षाकृत विकासको बाटोमा अघि बढाउन सकेन र भ्रष्टाचारलाई बढावा दियो । गरिबको पार्टी कहिल्यै बनेन र बन्न पनि चाहेन । आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम तथा पिछडावर्गको उत्थानका लागि कुनै नीति कार्यक्रम ल्याउन चाहेन र न चाहना छ ।
एमाले : अनुदार र यथास्थितिवादी
केन्द्रीय राजनीतिमा सबैभन्दा बढी अनुदार र यथास्थितिवादी एमाले चर्को रूपमा सङ्घीयता, समानुपातिक समावेशिताको विरुद्धमा खनिएको छ । तराई, मधेस र पहाडको बिचमा विभाजन ल्याउन खोज्ने र मुलुकमा राजनीतिक, जातीय र भौगोलिक द्वन्द्व एवं भीडन्त चर्काउन एमालेले भूमिका निभाइरहेको छ । ऊ संविधान संशोधनविरुद्ध र नेपाली जनताको पहिचान र अधिकारविरुद्ध लागेको छ । विगत एक दशकदेखि निरन्तर दैनिक अठार घन्टासम्म नक्कली लोडसेडिङ गराई निर्दोष नेपाली जनतालाई अँध्यारोमा बस्न बाध्यकारी अवस्थाको सिर्जना गराउने योजना एमालेकै छत्रछहारीमा भएको देखिन्छ ।
माओवादी केन्द्र : तीव्र एमालेकरण
स्थानीय निकाय सञ्चालनको अनुभव नभएको माओवादी केन्द्रले जनयुद्धकालमा परिवर्तनका लागि ऐतिहासिक भूमिका खेलेको बताए पनि गरिब जनता जहाँको त्यहीँ रहे । चार शीर्ष नेतृत्वको व्यक्तिगत स्वार्थमा पार्टीलाई चिराचिरा पारेर हजारौँ सहिदको बलिदानीलाई धुलोमाटो चटाएका छन् । यस पार्टीको कुनै स्पष्ट सिद्धान्त र दृष्टिकोण देखिँदैन । माओवाद र साम्यवादले पुँजीवादको मन्द विषपान गरिसकेको छ । द्रुत गतिमा यो पार्टी एमालेकरण भइरहेको छ । एमालेकरण हुनबाट आफूलाई जोगाउन सकेन भने यसको विघटन अवश्यम्भावी छ । यस पार्टीको नेतृत्व चरम ढुलमुले देखिएको छ, कतिवेला के बोल्छ, के सोच्छ र के गर्छ, त्यसको आँकलनसम्म गर्न गाह्रो छ ।
राप्रपा : परिवर्तनको एजेन्डा आत्मसात गर्न नसक्ने
नेपालको राष्ट्रिय जनावर ‘गाई’ चुनाव चिह्नको नाजायज फाइदा उठाएर रूगा (रूख र गाई) र सुगा (सूर्य र गाई)को जोडबलबाट संसद्मा चौथो स्थान प्राप्त गरे पनि विचार र एजेन्डाको हिसाबले अनुदारवादी र यथास्थितिवादी छ । बदलिँदो परिवेशमा जनताको पक्षमा आफूलाई रूपान्तरण गर्न असमर्थ देखिन्छ । परिवर्तनका एजेन्डालाई आत्मसात र स्वीकार गर्न नसकेको देखिन्छ ।