२२ जेठ, चितवन ।
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अभियान काङ्ग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताए ।
जागरण अभियानले काङ्ग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो । उनले भने, “काङ्ग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।”
योमार्फत् काङ्ग्रेसले गति लिएको भन्दै उनले थपे, “काङ्ग्रेसको गाडी स्टाट भयो । हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।” समग्रमा जागरण अभियान सफल भएको उनले बताए ।
अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्रै गर्न सक्ने दाबी गरे।