२२ जेठ, काठमाडौं ।
४५ औँ विश्व वातावरण दिवस वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गरी बुधबार नेपालमा पनि मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ । वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।
यस वर्ष वायु प्रदुषणलाई जितौँ भन्ने नारासहित दिवस मनाईँदै छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्य र समग्र वातावरणमा खराब प्रभाव परेको सन्दर्भमा त्यसबाट मुक्त हुने प्रयासमा एकताबद्ध हुन यस वर्षको विश्व वातावरण दिवसको नारा ‘वायु प्रदुषणलाई जितौँ’ भन्ने बनाइएको हो ।
दिवसको अवसमारमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले विश्वमा अहिले हरित अर्थतन्त्रको खाँचो रहेको बताएका छन् । वातावरण संरक्षका लागि सक्रिय रुपमा काम गर्ने बेला आएको शुभकामना सन्देशमा भनिएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र उन्नति दीगो र मानव उपयोगी हुने बताए ।