Logo

पारसको नेतृत्वमा रहेको प्रदेश ३ सेमिफाइनलमा



Spread the love

२० जेठ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रदेश नम्बर ३ प्रवेश गरेको छ । मूलपानी मैदानमा भएको खेलमा सुदूर पश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ ले अन्तिम चारको यात्रा तय गरेको हो ।

प्रदेश ३ ले चार खेलबाट ६ अंक जोडेको छ । रनरेटमा अघि रहँदै प्रदेश ३ समूह ए को विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ ले सुदूरपश्चिमले दिएको १५५ रनको सामान्य लक्ष्य ३३. २ ओभरमा चार विकेटको नोक्सानीमा लक्ष्य भेटायो ।

प्रदेश ३ को जितमा इशान पाण्डेले ५३ रन , रविन जोशीले १३ रन, अदिल खानले अविजित ३३ रन बनाए । त्यस्तै , कप्तान पारस खड्काले २६ रन तथाओपनर रित गौतमले ११ बनाए ।

यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले ४५. १ ओभरमा अल आउट हुदै १५४ रन बनाएको थियो । उसका लागि खडक बोहराले सर्वाधिक ४० रन बनाए भने रोशन अधिकारीले २७ र नरेश बोहराले २६ रन जोडे ।

सुदूरपश्चिमको ब्याटिङलाई सस्तैमा समेट्नका लागि सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र जितेन्द्र सिंह ठकुरीले समान दुई/दुई विकेट हात परे । त्यस्तै नन्दन यादव र पारस खड्काले पनि समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्