Logo

अनिलको शतकले पनि जिताउन सकेन गण्डकीलाई



Spread the love

२०जेठ, काठमाडौं । प्रदेश नम्बर पाँचले दोस्रो जित दर्ता गरेपनि उसको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको यात्रा टुंगिएको छ ।

अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३ विकेटले हराउदै दोस्रो निकाले पनि अगाडिको यात्रा तय हुन सकेन । समूह ए बाट पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर तीन र विभागीय क्लब एपीएफले अन्तिम चारमा स्थान बनाइसक्दा प्रदेश पाँच १ अंकले पछि परेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश पाँच १ बल बाँकी रहदा ७ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । प्रदेश पाँचको जितमा सौरभ खनालले सर्वाधिक ९० रन जोडे । प्रधानमन्त्री कपबाटै उदाएका सौरभले लामो समयपश्चात पुन प्रधानमन्त्री कपमा नै ९० रन बनाए । प्रनित थापा मगरले ४५ रन बनाउँदा निश्चल चौधरीले ३३ रनको योगदान दिए । गण्डकी प्रदेशका किशोरी महतोले २ विकेट हात पारे ।

यसअघि पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले २ सय ३४ रन बनाएको थियो । गण्डकीका लागि अनिल गुरुङले शतक बनाए पनि टोलीलाई जिताउन भने सकेनन । अनिलले १ सय १५ रन जोडे । कप्तान गोविन्द प्रधानले २६ रन बनाउँदा दिपेश श्रेष्ठले २८ रन बनाएका थिए । किशोरी महतोले २० रन बनाए ।

प्रदेश पाँचका अनिल खरेलले ५ विकेट लिएका थिए । विक्रम भुसाल र कृष्णा कार्कीको नाममा समान २–२ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्