Logo

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाकाे लगातार दोस्रो हार



Spread the love

२० जेठ, काठमाडौं । बंगलादेशले आईसीसी एकदिवसीय विश्वकप २०१९ मा सानदार सुरुवात गरेको छ । बंगलादेशले आईतबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्यो । बंगलादेशले ५० ओभरमा ६ विकेटको नोक्सानीमा ३ सय ३० रन बनायो । उसका लागि शकिब अल हसन र मुस्फिकर रहिमले १ सय ४२ रनको साझेदारी गरे । हसनले ८४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ७५ रन बटुले । भने रहिमले ७८ रनको योगदान दिए । त्यस्तै , महमुदुल्लाहले ४६ रन, शौम्य सरकारले ४२ रन बनाए भने मोसादेक हुसेनले आक्रामक रुपमा २६ रनको योगदान दिए ।

अफ्रिकाका लागि एन्डिले फेहलुकवेले,इमरान ताहिर र क्रिस मोरिसको नाममा समान २ विकेट रह्यो ।

बंगलादेशले प्रस्तुत गरेको ३ सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९ रन मात्र बनाउन सक्यो । पहिलो विकेटका रुपमा ओपनर क्विन्टन डी ककलाई २३ रनमा गुमाएको थियो । त्यसपछि १ सय २ रन बनाउँदा दोस्रो विकेट खेर फालेको दक्षिण अफ्रिकाले स्कोरबोर्डमा १ सय ४७ रन बनाउदा तेस्रो विकेट खेर फाल्याे ।

तर , त्यसपछि उसका अरु तीन खेलाडीबीच राम्रो साझेदारी हुन नसक्दा २ सय ५२ रनमा ६ विकेट गुमाउन पुग्यो । उसका लागि कप्तान फाफ डुप्लिसिसले ६२ रन बनाउदा डेविड मिलरले ३८ तथा हि भान डेर डुसेनले ४१ रनको योगदान गरे । यस्तै क्विन डी ककले २३ तथा एडीम मक्रमले ४५ रन जोडे । त्यस्तै ,जेपी डुमिनीले ४५ रन बनाए । क्रिस मोरिस १० रनमा आउट हुँदा कागिसो रबाडा १३ र इमरान ताहिर १० रनमा अविजित रहे ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए । मोहम्मद सैफुद्दीनले २,सकिब अल हसन र मेहदी हसनको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्