१९ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलले एउटा विवादास्पद होटलको उद्घाटन गर्न अस्वीकार गरेका छन्। साढे तीन तलाको मात्र नक्सा पास गरी ११ तला निर्माण गरिएको थाहा पाएपछि उनी उद्घाटन नगरी फर्किएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान सवा १० बजे पोखरा विमानस्थलमा उत्रिएका थिए। त्यसपछि उनी सीधै लेकसाइडस्थित होटल स्विस इन्टरनेसनल पुगेका थिए। तर, मापदण्डविपरीत बनेको होटल उद्घाटन गर्दा आलोचित हुने देखिएपछि उनी त्यसै फर्किएका हुन्।
प्रधानमन्त्रीभन्दा अघि संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा होटेल पुगिसकेका थिए। प्रधानमन्त्री ओली होटेलको सातौँ तलामा गएर बसे। त्यहाँ होटेल उद्घाटन गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्रीले मुख्यमन्त्रीसहित अन्यसँग छलफल गरेपछि उद्घाटन नगर्ने निर्णयमा पुगेको श्रोतले बतायो।