१७ जेठ, रोल्पा।
रोल्पा नगरपालिका–४ का चुडामणि आचार्य ९० वर्ष पुगे। दुई श्रीमतीबाट ११ सन्तान छन् आचार्यका। अहिले उनी कान्छो छोरासँग बस्दै आएका छन्। छोराछोरी कोही व्यापारी, कर्मचारी, वकिल न् त कोही शिक्षक। छोराछोरी सबै आ–आफ्नै काममा व्यस्त, उनी साँझबिहान परिवारसँगै खाना खाने समयबाहेक अरु बेला बस्दैनन्। उनको साहारा भनेकै ‘बेडरुम’ र लौरी हो। “बुढेसकालमा कहिले कता दुख्छ, कहिले कता, हिँडडुल गर्न पनि समस्या हुन्छ, मेरो साहारा, भरोसा जे भने पनि यही हो”, आफूसँगै भएको लठ्ठी देखाउँदै आचार्यले भने।
नगरपालिकाभित्रकै ७६ वर्षका धनमाय भनेर चिनिने चिन्तामणि आचार्य पनि अर्को त्यस्तै पात्र हुन्। तीन छोराछोरीका बुबा आचार्यको अहिले हातमुख जोड्ने माध्यम भनेको जजमान थियो। दिनभर टुँडिखेलमै बसेर चिना हेरेर उनले साँझ–बिहानको छाक टार्थे। तर, अहिले आँखा, कान दुवैले काम गर्न छाडेपछि त्यो पेशा पनि छाडेका छन्।
“साहारा कोही छैन, श्रीमती पनि मसँग मिल्न नसकेर छोराहरुसँग बस्छे, म एक्लै बस्छु, खाना खर्च पनि हुँदैन, कहिलेकाहीँ चिना हेराउनेले थोरै पैसा दिन्छन्, त्यहीले छाक टार्ने गरेको छु, कहिले त भोकैसमेत बस्नुपर्छ, वृद्धाश्रम भए त त्यही गएर बस्नुहुन्थ्यो, रोल्पामा वृद्धाश्रम पनि छैन, जुनी कटाउन साह्रै गाह्रो भो, छोराछोरी जन्माएर के गर्नु”, भावुक हुँदै आचार्यले भने।
दुर्गाप्रसाद उपाध्याय ७७ वर्ष पुगे। दुई श्रीमतीबाट छ भाइबहिनी सन्तान भएता पनि उनी पनि बेसाहारा छन्। अहिले उनले साँझ–बिहान खाना बनाउनेदेखि सबै काम एक्लैले गर्छन्। “उमेरमा छोराछोरीका लागि भनेर कति दुःखकष्ट गरियो, यिनकै लागि भनेर कहिले भोकै पेट त कहिले आधा पेट खाएर काम गरियो, छोराछोरीले पकाएर देलान् भन्ने उमेरमा आफैँले सबथोक गर्नुपरेको छ, अहिले त छोराछोरी जन्माउनु, हुर्काउनु बेकारजस्तो रहेछ”, उपाध्यायले दुखेसो पोखे।
जिल्लाका यी त प्रतिनिधि पात्र मात्र हुन्, जिल्लामा यस्ता ज्येष्ठ नागरिक जो, आफ्ना सन्तानबाट अपहेलित हुने गरेका धेरै छन् । बुढेसकालको उमेरमा छोरा–बुहारीले घर निकाला गर्ने, बेलाबेलामा मानसिक यातना दिने, कुटपिट गर्ने, समयमा खाना नदिने, उनीहरुको भावनाविपरीत काम गर्नेजस्ता समस्या ज्येष्ठ नागरिकले भोग्दै आएका छन्।
यस्तै समस्याबाट ग्रसित ज्येष्ठ नागरिकका संरक्षणका लागि जिल्लामा वृद्धाश्रमको व्यवस्था भए उनीहरुलाई जीवनयापन गर्न सहज हुने ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष तेजराज आचार्यको भनाइ छ। रोल्पामा आफ्नो सन्तानबाट अपहेलित वा सन्तान व्यस्त भएका कारण आफ्ना वृद्ध बुबाआमालाई हेरचाह गर्न नसकेका ज्येष्ठ नागरिकलाई संरक्षण गर्न स्थानीय निकायले समेत चासो नदेखाएको अध्यक्ष आचार्यको गुनासो छ।
ज्येष्ठ नागरिकका लागि भनेर छुट्याएको बजेटसमेत स्थानीय सरकारले बाटो, खानेपानीजस्ता शीर्षकमा खर्च गर्ने गरेको उनले बताए। यस विषयमा पटक–पटक आवाज उठाउँदा पनि कतैबाट सुनुवाइ नभएकामा उनले खेदसमेत प्रकट गरेका छन। सरकारले नारामा ‘ज्येष्ठ नागरिकको सम्मान, सभ्यताको पहिचान’ भन्ने दिए पनि नारामा मात्र सीमित भएको ज्येष्ठ नागरिकहरुको गुनासो छ।
सरकारले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भने पनि आफूहरुले सेवा उपभोग गर्न नपाएको रोल्पा नगरपालिका–२ कै वासु श्रेष्ठले गुनासो गरेका छन्। टाउको दुखेको बेला प्रयोग गरिने सिटामोल किन्न पनि आफूले पैसा तिर्ने गरेको उनको भनाइ छ।
रोल्पा जिल्लामा २१ हजार ३७४ ज्येष्ठ नागरिक रहेको ज्येष्ठ नागरिक जिल्ला सङ्घको तथ्याङ्कमा उल्लेख छ। केही गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि बजेट छुट्याए, कोहीले भने ज्येष्ठ नागरिकको नाममा छुट्याएको बजेट विकास निर्माणमा खर्च गरे केही पालिकाले भने ज्येष्ठ नागरिकका लागि भनेर बजेट नै छुट्याएनन्। सरकारले यातायात, स्वास्थ्यलगायतका क्षेत्रमा सहुलियत दिने भने पनि व्यवहारमा केही लागू भएको छैन।
सन्तती व्यस्त हुँदा वा बुढेसकालमा विविध कारणले अपहेलित भएका ज्येष्ठ नागरिक वृद्धाश्रमको खोजीमा भौँतारिएका छन्। स्थानीय सरकारले यस्ता ज्येष्ठ नागरिकको सम्मानका लागि सँगै उनीहरुसँग भएको असीमित सीप, दक्षता र अनुभवलाई नयाँपुस्तामा हस्तान्तरण गर्नका लागि विशेष खालको कार्यक्रम ल्याउनुपर्ने आजको आवश्यकता देखिएको छ। रासस