१६ जेठ, काठमाडौं । बेल्जियन फरवार्ड इडेन हजार्डको दुई गोलको सहयोगमा चेल्सी युरोपा लिगको च्याम्पियन बन्न सफल भयो । बुधबार राति चेल्सीले फाइनलमा आर्सनललाई ४–१ ले हराउदै च्याम्पियनको उपाधि चुमेको हो ।
रेफ्रीले फाइनल ह्वीसिल बजाएसंगै हजार्डले समर्थकमाझ ‘गुड बाई चेल्सी’ भनेका हुन् । ‘मेरो विचारमा चेल्सीका लागि यो नै मेरो अन्तिम खेल र अन्तिम उपाधि हुनेछ । तर, मैले फुटबल छाड्न लागेको हैन । मलाई अर्काे चुनौती छ । म नयाँ चुनौती सामना गर्न तयार छु ।’ हजार्डले खेल लगत्तै भने, ‘मैले मेरो निर्णयको बारेमा दुई साताअघि नै भनेका थिए । अब यो चेल्सी (दुवै क्लब) मा निहित छ । म अन्तिम प्रतीक्षामा छु । यसबारे केही दिनमा नै थाहा हुनेछ । ’
हजार्डलाई अनुबन्ध गर्न चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडबीच ११५ मिलियन पाउन्डमा सहमत भएको छ । यसबारे दुवै क्लबले छिट्टै घोषणा गर्नेछन् ।
सन् २०१२ मा लिलेबाट चेल्सी आएका २८ वर्षीय हजार्डले चेल्सीमा २४५ खेल खेल्दै ८५ गोल गरेका छन् ।