१५ जेठ, चितवन ।
गणतन्त्र संस्थागतसँगै मुलुक समृृद्धितर्फ अघि बढ्ने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिले प्रभातफेरीपछि आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले समृद्धिका लागि सबै एक हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल र विजय सुवेदीले सरकार समृद्धिको यात्रामा लागेको भन्दै विकासमा पक्ष र विपक्ष हुन नहुने बताए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले गणतन्त्र संस्थागत हुनका लागि देशमा समृद्धि आवश्यक रहेको भन्दै सरकार त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।
सोही समारोहमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सबै राष्ट्रसेवकहरुले इमान्दारीपूर्वक काम गरेर जनतालाई गणतन्त्रको आभास दिलाउनुपर्ने बताए ।
कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको सभापतित्वमा भएको थियो । यसअघि भरतपुरको चौबीसकोठीबाट गेष्टहाउस चौरसम्म प्रभातफेरी गरिएको थियो ।