१५ जेठ, काठमाडौं।
ओठ कलेंटी परेका छन् । अनुहार मुर्झाएको छ । हरपल रसाएका झैं देखिन्छन् आँखा । ‘बेपत्ताकी आमा’ भनेर चिनिने ७० वर्षीया सुभद्रामाया दर्नाल झुप्रे घरको छेउभित्तो समाउँदै साँघुरो कौसीमा निस्किइन् । होचो पिर्कामा बसेपछि आफ्नो ‘बेपत्ता’ परिचय सुनाउन थालिन् ।
हेटौंडा बजार नजिकै शान्तिनगरको सुकुम्बासी टोललाई ‘३७ घरे’ पनि भनिन्छ । नेपालमा प्रजातन्त्र र लोकतन्त्रको उदयपछि बनेको यो सुकुम्बासी बस्तीमा ३७ घरपरिवार बसोबास गर्ने भएकाले टोलको नाम फेरिएको हो । ‘निको हुने घाउमा माक्रै खाटो बस्ने रहेछ बाबु,’ रत्तअल्पता र दमको बिमारले थलिएकी सुभद्रा बिस्तारै बोल्न थालिन्, ‘यो ३० वर्षमा एकपछि अर्को गर्दै मेरा ४ जना छोरा बेपत्ता भएको कुरो खाटो नबस्ने घाउझैं बनेको छ ।’
सुभद्रा ग्रहदशा कटाउने बहानामा ‘शनि पूजा’ हरेक शनिबार गर्छिन् । लिपपोत गरिएको साँघुरो कौसीमा बसेर कुराकानी गरिरहँदा कुनै घडी उनी केही सम्झेजस्तो गर्दै आफू सुत्ने खाटमुनिको कागजको थैलो झिक्न जान्थिन् । कुनै घडी बोरामा राखिएका पोकापोकीमाझ आफ्ना छोरा र श्रीमानको फोटो खोजिरहेकी हुन्थिन् । पिसाबबाट रगत जाने, एउटा किड्नी खराब भइसकेको र क्यान्सरको आशंका गरिएको उनको हालतले पनि हुन सक्छ, जति कुरा सम्झन खोज्थिन्, उति नै भक्कानिरहेकी पनि थिइन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।