Logo

मूर्ति बनाउने व्यवसाय सङ्कटमा



Spread the love

६ वैशाख, ललितपुर– स्थानीय भिन्छे बहाल टोलका ४८ वर्षीय सानुभोजु बज्राचार्यले मूर्ति बनाउन थालेको ३५ वर्ष नाघ्यो । उहाँले हजुरबुबा नन्दमुनिबाट मूर्ति बनाउन सिक्नुभएको हो । माग थोरै तर व्यवसायीको सङ्ख्या बढेपछि मूर्ति बनाउने व्यवसाय सङ्कटमा परेको बज्राचार्य बताउनुहुन्छ ।

“घाटा लाग्न थालेपछि छोराछोरीले व्यवसाय परिवर्तन गर्न दबाब दिन थालेका छन्,” उहाँले भन्नुभयो । उहाँले गौतमबुद्ध तथा विभिन्न देवीदेवताका मूर्ति बनाउनुहुन्छ । उहाँले बनाउँदै आएका मूर्ति सबै ढुङ्गाका हुन् । बाजेको पालासम्म मूर्ति बिक्री गर्न ग्राहक उहाँको घरसम्मै आउने गरेका थिए । तर अहिले भने बज्राचार्यले पसल समेत राख्नुभएको छ ।

“पसलको भाडा महँगो छ, पहिला घरबाटै बिक्री गर्दा नाफा हुन्थ्यो,” बज्राचार्यले भन्नुभयो । मूर्ति बनाउन आवश्यक कच्चा पदार्थ बजारमा सहजै उपलब्ध हुने गरेको उहाँ बताउनुहुन्छ । बज्राचार्यले रु ५०० देखि रु एक लाख मूल्य पर्ने ढुङ्गाका मूर्ति बनाउने गर्नुभएको छ । ती सबै मूर्ति उहाँले आफ्नै घरमा निर्माण गर्दै आउनुभएको छ । मूर्ति निर्माण गर्न उहाँले चार जना कामदार समेत राख्नुभएको छ ।

“मूर्ति बिक्री गरेको आम्दानीबाट घर खर्च चलाउन निकै मुस्किल भएको छ,” बज्राचार्यले भन्नुभयो– “युवा पुस्ता यस व्यवसायप्रति आकर्षित हुन सकेको छैन ।” मासिक रु दुई लाखसम्मको कारोबार हुने गरेको उहाँको भनाइ छ ।

ललितपुरको पाटनढोकाका राजेश शाक्य सानै उमेरदेखि तामाको मूर्ति बनाउँदै आउनुभएको छ । उहाँले पनि आफ्नै घरमा मूर्ति बनाउनुहुन्छ । घरबाटै मूर्ति बिक्री गर्न समस्या भएपछि बज्राचार्यको जस्तै उहाँले पनि बजारमा पसल राख्नुभएको छ ।

“पहिला पहिला ग्राहक मूर्ति खोज्दै घरैसम्म आइपुग्थे, अहिले बजारमा जताततै पाउन थालेपछि घरमा आउन छाडेका छन्,” शाक्यले भन्नुभयो । उहाँले गौतमबुद्ध, विभिन्न देवीदेवतालगायतका मूर्ति घरमा निर्माण गरी पसलबाट बिक्री गर्ने गर्नुभएको छ । शाक्यले तामाको मात्रै मूर्ति बनाउनुहुन्छ । मूर्ति बनाउन आवश्यक कच्चा पदार्थको अभाव नभए पनि माग थोरै भएका कारण खासै आम्दानी हुन नसकेको उहाँको भनाइ छ ।

शाक्यले रु १० हजारदेखि ५० हजारसम्म मूल्य पर्ने विभिन्न मूर्ति बनाउँदै आउनुभएको छ । रु १० हजार मूल्य पर्ने मूर्तिमा रु दुई हजारसम्म तथा रु ५० हजारको मूर्तिमा रु पाँच÷छ हजार नाफा हुने गरेको उहाँको भनाइ छ । वार्षिक रु पाँच लाखसम्म मात्र नाफा हुने गरेको शाक्यले बताउनुभयो ।

“अहिलेको महँगाईमा यही कमाइले घरव्यवहार चलाउन गाह्रो भएको छ,” उहाँले भन्नुभयो– “यही व्यवसायका भरमा बाँच्न सकिन्न ।” मूर्ति बनाउनेको सङ्ख्या बढेसँगै व्यवसाय सङ्कटमा परेको उहाँको बुझाइ छ । माग एकदमै कम आएपछि मूर्ति बनाउने व्यवसायमा टिक्न मुस्किल भएको शाक्यले बताउनुभयो ।

मूर्ति निर्माण गर्न लाग्ने समय त्यसको आकारमा भर पर्छ । सानो आकारको मूर्ति बनाउन एक महिना समय लाग्छ भने ठूलो आकारको मूर्ति निर्माण गर्न चार÷पाँच महिनासम्म समय लाग्ने व्यवसायी बताउँछन् । तामा र ढुङ्गाका मूर्तिको बजार चीनको तिब्बत हो । यसबाहेक कम्बोडिया, श्रीलङ्का, भुटान, थाइल्यन्डलगायत देशबाट समेत मूर्तिको माग आउने गरेको व्यवसायी बताउँछन् । मुलुकभित्र न्यून मात्रामा मूर्तिको कारोबार हुने गरेको छ ।

नेपालमा हातले बनाएका मूर्ति विदेशीका लागि मुख्य आर्कषण हुने गरेका छन् । ढुङ्गाका मूर्ति बनाउन कच्चा पदार्थ स्वदेशमै पाउने गरेको भए पनि तामाका मूर्ति बनाउन भने कच्चा पदार्थ विदेशबाट मगाउनु पर्ने हुन्छ । कामदारलाई पनि परिश्रम गरेअनुसारको ज्याला पाउन गाह्रो हुन्छ । भगवान् गौतमबुद्वको मूर्ति अरुभन्दा बढी बिक्री हुने गरेको व्यवसायी बताउँछन् । काठमाडौँ, ललितपुर र भक्तपुर हस्त निर्मित मूर्तिका लागि प्रसिद्ध ठाउँ हुन् । भूकम्पका कारण समेत व्यवसायमा असर परेको छ । पर्यटकको आगमनमा कमी आएसँगै सो व्यवसायमा समेत असर परेको हो । नेपालका ऐतिहासिक र पुरातात्विक महत्वका मूर्ति पर्यटकका लागि विशेष आकर्षण बन्ने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्