१४ जेठ, काबुल। राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानमा गत वर्ष विद्यालयमाथि भएका आक्रमणका घटनामा तेब्बरले वृद्धि भएको जनाएको छ । विद्यालयमाथि निरन्तर भएका आक्रमणले बालबालिकाको शिक्षामा नकारात्मक असर परेको पनि युनिसेफले जनाएको छ ।
युनिसेफका अनुसार सन् २०१७ मा आक्रमणका ६८ वटा घटना रहेकामा गतवर्ष सन् २०१८ मा १९२ घटना भएका थिए । सन् २०१५ देखि विद्यालयमा आक्रमण हुनेक्रम बढेको पाइएको हो ।
अफगानिस्तानमा जारी १८ वर्षदेखिको सशस्त्र युद्धका कारण सन् २०१८ सम्ममा एक हजार विद्यालय बन्द भइसकेका छन् । विद्यालय बन्द भएका कारण करिब पाँच लाख बालबालिका शिक्षाको अधिकारबाट बन्चित भएका छन् । युनिसेफका अनुसार विद्यालयमा आक्रमण भएको तथा शिक्षकको हत्या र अपहरण गरिएको छ ।
गत वर्ष संसदको निर्वाचनका लागि मतदाता दर्ताका रुपमा विद्यालयलाई प्रयोग गरिएका कारण पनि विद्यालयमा आक्रमण बढी भएको युनिसेफको भनाई छ ।
हाल सातदेखि १७ वर्षको उमेरका करिब ३७ लाख स्कुले बालबालिका विद्यालय शिक्षाबाट बन्चित रहेका छन् । युनिसेफले बालिकाको असुरक्षा, गरिबी र विभेदले पनि विद्यालयमा बालिकाको उपस्थिति पातलो छ ।
तालिबानले आफू शासनमा रहँदा सन् १९९६ देखि २००१ सम्म बालिका शिक्षामा प्रतिबन्ध लगाएका थिए । तर सन् २००१ मा तालिबान सत्ताच्यूत भएपछि फेरि बालिकाहरुको शिक्षा खुला गरिएको थियो ।
राष्ट्रसंघका अनुसार सन् २०१८ मा मारिएका तीन हजार ८०४ जना व्यक्तिमध्ये ९०० भन्दा बढी बालबालिका रहेका थिए । आक्रमणबाट करिब ७ हजार १८९ जना घाइते भएका थिए ।
रासस