१३ जेठ ललितपुर ।
प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारले प्रेस स्वतन्त्रतामा शतप्रतिशत ग्यारेन्टी गर्ने बताएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानमै रहेको प्रेस स्वतन्त्रताको व्यवस्थालाई सरकारले सम्मान गर्ने बताएका हुन्।
‘प्रेस स्वतन्त्रताको सम्बन्धमा संविधानले व्यवस्था गरेभन्दा सरकार एक अक्षर पनि तलमाथि गर्दैन,’ प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्रीले पत्रकारितामा कतिपय विसंगतिहरू देखिएको भन्दै सुधारको आवश्यकता औंल्याए।
‘समाचार सत्यमा आधारित हुनुपर्छ, कसैलाई व्यक्तिगतरूपमा रिस उठेको भरमा सभ्यताको सीमा नाघ्न मिल्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सभ्य ढंगले समाचार प्रस्तुत गर्नका लागि नेपाली भाषामा शब्दको भण्डार छ।’
प्रधानमन्त्रीले मानव अधिकारको प्रश्न लोकतन्त्रमा नै हुने बताउँदै तानाशाहीमा मानव अधिकार भन्ने शब्द नै नहुने बताए।