९ जेठ, काठमाडौँ । बुधबार राती लन्डनमा क्यारेबियन प्रिमियर लिगको ड्राफ्ट सम्पन्न भएको छ । जसमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बार्बाडस ट्राइडेन्टसले महँगो मुल्यमा अनुबन्ध गरेको छ ।
सन्दिपलाई बार्बाडसले पाँचौ राउण्डमा ७० हजार डलर (करिब ७८ लाख ५० हजार नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो। उक्त स्थानमा छानिने खेलाडीले न्यूनतम् ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन्। ड्राफ्टमा कुल ५ सय ३६ खेलाडी रहेका थिए । जसमा ६ टोलीले १७-१७ खेलाडी गरि कुल १ सय २ जनालाई मात्र अनुबन्ध गरेका छन् ।
सन्दीप बाहेक अन्य नेपाली तीन युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेललाई ड्राफ्टमा कुनै टोलीले अनुबन्ध गरेनन् । त्यस्तै, अफगानिस्तानका लेग स्पिनर राशिद खानलाई भने कुनै पनि टोलीले अनुबन्ध गरेनन् ।
गतवर्ष उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान प्रतिभा समेत घोषित सन्दीप भएका थिए । अघिल्लो सिजन सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट हात पारेका थिए । एकै वर्षमा सन्दीपको पारिश्रमीकमा १४ गुणा बढेको छ । सन्दीपले अन्तर्राष्टिय फ्रेन्चाइज लिगमा ७० हजार अमेरिकी डलर प्राप्त गरेको हालसम्मकै उच्च पारिश्रमीक हो ।