९ जेठ, काठमाडौं।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा देशभरबाट परेका १२ सय उजुरी उपर कारबाहीको कुनै संकेत देखिएको छैन । पार्टीबाटै आएका विभिन्न दबाबका कारण उजुरीमाथि छानबिन गरी कारबाही गर्न अनुशासन समिति हच्किएको स्रोतको दाबी छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
पार्टीले बनाएको अनुशासन समितिमा देशभरबाट १२ सयको हाराहारीमा उजुरी परेको भए पनि विभिन्न दबाब तथा कस्ता उजुरी उपर के गर्ने भन्ने नियमावली नहुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो ।
कांग्रेसले गत चैत मसान्तसम्म समितिमा उजुरी गर्न भन्दै म्याद दिएको थियो । यसबीचमा समितिमा पुराना र नयाँ आएका गरी १२ सय उजुरी जम्मा भएको छ । यसबीचमा समितिको औपचारिक बैठकसमेत पाँचपटक बसिसकेको छ । तर, बैठकले प्राप्त उजुरीको पोको खोल्ने, अध्ययन गर्ने र उजुरीको प्रकृति छुट्याउने मात्रै काम गरेको छ ।
समितिका एक सदस्यले समितिको बैठक पाँचपटक बसेको र उजुरीको पोको खोल्ने र अध्ययन गर्नेबाहेक बैठकले अरू काम नगरेको जानकारी दिए ।