८ जेठ, इनरुवा ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी दुव्र्यसनविरुद्धको अभियान कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
उनले दुव्र्यसनले समाजमा आपराधिक गतिविधिका घटना बढाउने भएकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले दुव्र्यसनविरुद्धको अभियानका लागि ‘सगरमाथा टिम क्लब गठन गरेर हामी अगाडि बढौँ’ भन्ने मूल नाराका साथ प्रदेशभरिका युवाको सक्रिय सहभागितामा दुव्र्यसनलाई न्यूनीकरण गर्नका लागि काम गरिरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लामा दुव्र्यसनलाई न्यूनीकरण गर्नका लागि १६ विद्यालयमा फ्रेन्ड क्लब गठन गरेर अभियान सञ्चालन गरेको छ । कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्का, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, प्रदेश नं १ का वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल, जिल्ला समन्यव समिति सुनसरीका उपप्रमुख कृष्णकुमारी विक, पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्कालगायतकाले दुव्र्यसनविरुद्ध ऐक्यबद्धता जनाएका थिए ।