८ जेठ,काठमाण्डौ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकले वन तथा वातावरणसम्बन्धी दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ ।
बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वन विधेयक, २०७५’ र ‘वातावरण संरक्षण विधेयक, २०७५’ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले गहन छलफल र अध्ययन गरेर मात्र विधेयकलाई अन्तिम रुप दिनुपर्ने सुझाव दिएका थिए । मन्त्री बस्नेतले विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्र्रश्नको जवाफ दिँदै विधेयक समृद्ध बनाउन प्राप्त सुझावलाई ग्रहण गर्दै वनको संरक्षण, उपयोग र लाभका समन्यायिक वितरण गर्ने बताए ।
मन्त्री बस्नेतले वातावरणसम्बन्धी विधेयकमा प्रदूषकले प्रदूषण गरेबापत क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था समेटिएको उल्लेख गर्दै यसले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित हुने अवगत गराए ।