Logo

धावनमार्ग स्तरोन्नतिको काम तीव्र



Spread the love

८ जेठ,काठमाण्डौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को काम तीव्र गतिमा भइरहेको छ ।

धावनमार्गको हालसम्म दुई हजार २२० मिटर स्तरोन्नति सकिएको विमानस्थलले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गत चैत १८ देखि धावनमार्ग पूर्णरुपमा मर्मतको काम शुरु गरेको थियो । एक महिना २१ दिनको अवधिमा दुई हजार २०० मिटरभन्दा बढी स्तरोन्नतिको काम सकिएको छ ।

आयोजनाका निर्देशक बाबुराम पौडेलले धावनमार्ग मर्मतको काम युद्धस्तरमा अघि बढेको र निर्धारित समय अगाडि नै काम सकिने विश्वास व्यक्त गरे । उनका अनुसार धावनमार्गको पिच परिवर्तनका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा पर्याप्त जनशक्ति परिचालन गरिएको छ । मर्मतको काम बढीमा ९० दिनभित्र सकिने आयोजना प्रमुख पौडेलको भनाइ थियो ।

नेपालको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग पूर्ण रुपमा पिच परिवर्तन गर्न लागिएको हो । धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन भइरहेको छ । स्तरोन्नतिको काम थालिएको गत चैत १८ गतेदेखि तीन महिनासम्म दैनिक १० घण्टा उडान बन्द गरेर काम गरिएको छ ।

धावनमार्ग स्तरोन्नतिका लागि क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनसँग निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग परिवर्तनका लागि सम्झौता गरेको छ । उक्त कार्यको प्राविधिक रेखदेखको लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनीयरिङ कर्पोरेशन कोरियाले जिम्मा पाएको छ ।

गौचरनबाट सुरु भएको विमानस्थलको ७० वर्षे इतिहासमा निकै उतारचढाव व्योहोरिसकेको छ । सन् १९७५ मा स्तरीकरण गर्दै धावनमार्गलाई तीन हजार ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बनाएपछि उक्त विमानस्थलमा प्रायः सबै प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान उडान र अवतरण गर्न सकिएको हो । हाल यो विमानस्थलबाट साना १९ सिटरदेखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् ।

धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनुका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विमानस्थलले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्