७ जेठ, भक्तपुर। स्थानीय जात्रा, पर्व र परम्परालाई पाठ्यक्रममा समेट्दै वैशाख १ गते नयाँ वर्षको झल्को दिँदै विद्यार्थीले गठ्ठाघर क्षेत्रमा बिस्केट जात्रा मनाएका छन् । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित सिभिएम स्कूलको आयोजनामा विद्यार्थीले स्कूल परिसरमा आज लिङ्गो उठाएर भैरवको रथ तान्दै गठ्ठाघर क्षेत्रको परिक्रमा गराएका छन् ।
विद्यालयमा बिहानैदेखि नेवारी परम्परागत पोशाकमा आएका विद्यार्थीले आफैले बनाएको लिङ्गो र भैरवको रथलाई सिँगारेर चिटिक्क पारे । उनीहरुले चारैतिरबाट डोरीले तानेर लिङ्गो ठड्याए । त्यसलगत्तै भैरवको नमूना रथलाई दुईतिर डोरी तानेर स्कूलमा परिक्रमा गराई बाहिर निकाले । विद्यार्थीले बिस्केटको रथ तानेजस्तै गरी ‘होस्से, हैसे……होस्से, हैसे,…हाँ…..हाँ’ गरी रथ तानेर सडकमा निकालेका थिए । गठ्ठाघर चोकमा रथ निकालेर विद्यार्थीले तानेको देख्दा सबै छक्क परेका थिए । रथलाई सिभिएम स्कूलदेखि गठ्ठाघर चोक, नागरिक अस्पताललगायत क्षेत्रको परिक्रमा गराइ पुनः स्कूल पु¥याइएको थियो ।
स्कूलका प्रिन्सिपल शङ्कर पौडेलले स्थानीय पाठ्यक्रमअन्तर्गत विद्यार्थीलाई बिस्केट जात्राबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । “यसबाट नेपालका पर्व र जात्रालाई विश्वसामु चिनाउन मद्दत पुग्छ”, उहाँले भन्नुभयो । सो कार्यक्रमको विभिन्न देशका नागरिकले अवलोकन गर्नुभएको थियो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जिल्लाको कला, संस्कृति र पर्वको जर्गेनामा विद्यालयको ध्यान जानु आवश्यक भएको बताउनुभयो । संस्कृतिकर्मी ओम धौभडेलले बिस्केट जात्राबारे जानकारी गराउनुभएको थियो ।
––– रासस