सरकारी बेवास्ताका कारण झन्झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
सरकारकै वातावरण विभागले उपत्यकामा तीन ठाउँ र दृष्टि काठमाडौं नामक गैरसरकारी संस्थाले उपत्यकाका १४ स्थानमा स्टेसन राखी प्रदूषण मापन गर्दा राजधानीको हावा २४ घन्टै सास फेर्न अयोग्य रहेको पाइएको हो।
दृष्टि काठमाडौंले दुई महिनादेखि पर्टिकुलेट म्याटर २.५ को धुलोको मापन गरी अनलाइनमार्फत २४ घन्टाकै प्रदूषणको रिपोर्ट दिँदै आएको छ । चैत ३० गते बुधबार मध्यरात १२ बजेदेखि बिहान १० बजेसम्म प्रदूषणको अवस्था खतराजनक देखिएको छ । यो समयमा सोझै फोक्सोमा पुगी रक्तनलीमार्फत शरीरभरि फैलिने पर्टिकुलेट म्याटर २.५ का धुलोको कण १५६ देखि १८६ माइक्रोग्राम घनमिटरसम्म पुगेको थियो । १० बजेदेखि १२ बजेसम्म त्यस्ता पर्टिकुलेट म्याटरको मात्रा अतिप्रदूषित मानिने ९६ देखि १२० मिटरक्यू पुगेको थियो ।
स्वास्थ्यका दृष्टिले यो अवस्था अति नै खतराजनक भएको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डाक्टर करवीरनाथ योगी बताउनुहुन्छ । काठमाडौंको धुलोमा सास फेर्दा मानिसको फोक्सोलगायत संवेदनशील अंगमा सोझै असर पुग्ने उहाँको भनाइ छ ।
पर्टिकुलेट म्याटर २.५ का धुलोका कण स्वासका माध्यमबाट फोक्सो हुँदै रक्तनलीसम्म पुग्ने गर्छ । यो अवस्था शरीरका लागि अतिसंवेदनशील मानिन्छ । यो अवस्थाबाट जोगिन विशेषज्ञहरूले सल्लाह दिएका छन् । आँखाले देख्न नसकिने यस्ता धुलोका कण शरीरका बाहिरी अंग आँखा र छालाका लागि पनि अति हानिकारक हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उल्लेख गरेको छ ।
डब्लुएचओको मापदण्डले पिएम २.५ को मात्रा २५ माइक्रोग्राम घनमिटरसम्म तोकेको छ । नेपालको राष्ट्रिय मापदण्डले भने ४० माइक्रोग्राम घनमिटरसम्म तय गरेको छ । तर, २४ घन्टाको हरेक समयमा उपत्यकाको वायुमण्डलमा पिएम २.५ को मात्रा योभन्दा धेरै बढी हुन्छ ।
‘हामी बस्ने ठाउँ प्रदूषित हुँदा जीवन व्यतित गर्न समस्या भएकाले प्रदूषणको अवस्थालाई सार्वजनिक गरी सबैलाई सूचना दिन यो अभियान सुरु गरिएको हो’, दृष्टि काठमाडौंका सदस्य अजय श्रेष्ठले भन्नुभयो । प्रदूषणको अवस्था नियन्त्रणबाहिर पुगे पनि समाधानको उपाय खोज्न टेवा पुगोस् भनेर रिपोर्ट सार्वजनिक गर्न थालिएको श्रेष्ठले बताउनुभयो ।
वातावरण विभागले एसियाली विकास बैंक र इसिमोडको सहयोगमा उपत्यकाको रत्नपार्क, पुल्चोक, धुलिखेलमा प्रदूषण मापकयन्त्र राखेर प्रदूषण मापन गर्दै आएको छ । दृष्टि काठमाडौंले बल्खु, बौद्ध, बूढानीलकण्ठ, एकान्तकुना, गल्कोपाखा, हात्तीसार, कलंकी, कालिमाटी, कोटेश्वर, नयाँबानेश्वर, पुतलीसडक, सानेपा, सातदोबाटो र थापाथलीमा प्रदूषण मापन गर्दै आएको छ ।
विभागले रत्नपार्कमा राखेको प्यारोमिटरले पिएम २.५ को मात्रा एक सय ९२ माइक्रोग्राम घनमिटरसम्म नापेको छ । डब्लुएचओले सामान्यतः पिएम २.५ का धुलो १० माइक्रोग्राम घनमिटरसम्म हुनु स्वास्थ्यका लागि योग्य मानेको छ । ११ देखि २५ सम्म उसले दैनिक मापदण्डभित्र राखेको छ । डब्लुएचओले २६ देखि ४० हल्का, ४१ देखि ७५ सम्म प्रदूषित, ७६ देखि १५० अतिप्रदूषित र त्यसभन्दा माथि खतराजनक भनेको छ । बिहान, दिउँसो, साँझ र रातिको पिएम २.५ को तथ्यांकअनुसार उपत्यकाको हावा २४ सै घन्टा सास फेर्न अयोग्य देखिएको हो ।
पानी परेपछि प्रदूषण केही कम हुने र समयअनुसार फेरबदल भइरहने रिपोर्टले देखाएको छ । स्वास्थ्यकर्मीले प्रदूषण र यसको संक्रमणबाट बच्न मास्क, चस्मा र छाला ढाक्ने कपडा अनिवार्य लगाउन सुझाव दिएका छन् । धुलो र धुवाँले काठमाडौंको वायुमण्डल ध्वस्त भइरहेकै बेला डब्लुएचओको ‘इन्टरभेन्सन्स फर हेल्दी इन्भाइरोमेन्ट’ विभागका संयोजक डाक्टर कार्लोस डोराले काठमाडौं उपत्यकामा चुरोट सेवनले वार्षिक १६ हजारको मृत्यु हुने गरेको तथा प्रदूषित हावाका कारण ३० हजारको ज्यान गइरहेको तथ्यांक सार्वजनिक गर्नुभएको छ ।