- हरिहर बुढाथोकी (बिन्दु माईला)
समान अधिकार
खल्ती हेर्छु खाली देख्छु मनमा चिसो पर्छ
छैन दाम के गरु समस्या के ले टर्छ !
मान्छे भै जन्म लिए दुःख कति पर्छ
नाप तौल छैन, नगरी भएन समस्या टार्नै पर्छ!
गाँस, वास, कपाससँगै रोग लाग्छ कति
के गरेर हल गर्ने हो, छैन केही सम्पत्ति !
कन्दमूल खाएर पनि बाँच्नु पर्ने भो
आपत् विपत् परे पनि बाच्नै पर्ने भो !
नाप तौल गरी खान,लाउन पुग्न सक्दो रहेछ
हिसाब किताब बिनाको त रोग लाग्दो रहेछ !
एक छाक खाना नखाई बाच्न सकिँदो रहेछ
अर्काको कपडा टालो हाली लगाउन सकिँदो रहेछ !
तर एक ट्याब्लेट औषधी नपाए मान्छे मर्दो रहेछ
छैन आज छोड्छु भन्दा काम नगर्दो रहेछ !
कम छ पैसा, थोरै किन्छु काम नदिने रहेछ
म गरिब, सानो रोग लाग्न भनेर नमान्दो रहेछ !
धनले बाच्ने नभए मर्ने यस्तो भयो किन
रोग,भोक र शोकमा जाने हुन कि गरिबका दिन !
यो कस्तो अन्तर छ मानिस-मानिस माथि
यो कस्तो अन्याय छ गरिब निमुखा माथि !
एक ट्याब्लेट औषधी नपाई मरे निमुखाहरू
करोडौँ खर्च गरी बाचे सम्पत्ति हुनेहरू !
रोगका लागि उपचार भन्दा रोग लाग्नदेखि होसियार
बाच्नका लागी सबैलाई होस समान अधिकार !
गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य अनि रोजगार
यी सबैलाई कानुनमै उल्लेख गर्नुपर्छ अधिकार !!