Logo

कविता: सम्भवत अब कुनै सम्भावना छैन



Spread the love

दृशान्त सापकोटा

हल्लै हल्ला बिच यो अर्को हल्ला छ ।
म देखिरहेछु निराश आँखाहरूले…
म भोगिरहेछु कोमल मनले….
म चिच्याइरहेछु नि:शब्दहरूले ।
थाकेर, अताल्लिएर
परसम्म म आशाको द्वार नियाली रहन्छु
विवशता वश, म फर्कन्छु कालो छाया अोडेर ।
असफलतामा खोज्छु मेरो देश…
जो असफलता मै नाङ्गिएको छ कालो भएर ।
मलाई कथा लाग्छ, यो देशको अमर गाथा
मलाई बकवास लाग्छ, धौलागिरी र सगरमाथा
म आत्मसाथ गर्न सक्दिन, वीर पुरुषका कथाहरूलाई
म सुन्न सम्म नि सक्दिन…
टिष्टा र काँगडाका कुराहरूलाई ।
म त सीमित छु मेची महाकाली सम्म ..
बरु,
म अझ सीमित छु, महाकालीको तट सम्म ।
मलाई पुरै सपनाको कथा जस्तो लाग्छ
वीर पुरुष बलभद्र र जननायक भीमसेन थापाको कथा ।
फिल्मी प्रसङ्ग जस्तो लाग्छ,
गङ्गालाल र शुक्रराज शास्त्रीको कथा ।
किन लाज मर्दो छैन र ?
हँ, हास्यास्पद छैन र ?
महापुरुषको देश हामी जस्ताको देश हुनु !
किन , मन रुँदैन र ?
वीरको योगदानमा नेता जी गाली हुनु !
किन बिग्रँदै छ? किन भत्कदै छ देश ?
“कायरतामा वीरता हुँदैन”
सम्भवतः अब कुनै सम्भावना छैन ।
इतिहासको पानामा मात्र कथा छापिएको छ ।
बलजफ्ती घटनाहरू रचिएका मात्र छन् ।
सत्य त यहाँ अर्कै केही छ, आँखा अगाडी
जो निरङ्कुश छ, भयङ्कर छ , खुँखार छ ।
उफ् ! मलाई खेद छ ।
देशले अब चोला फेर्ने छैन !
सम्भवतः अब कुनै सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्