Logo

२५६३ औँ बुद्धजयन्तीको तयारी पूरा



Spread the love

३ जेठ, काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले २५६३ औँ बुद्धजयन्तीको तयारी पूरा भएको जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यमा रङरोगन गरी सिङ्गारिएको तथा त्यस वरपर क्षेत्रमा सरसफाइ गरिएको छ । बुद्धजयन्तीका दिन बिहानैदेखि विशेष बुद्ध पूजा, भजनकीर्तन, साँझमा दीपावली गरिने छ । मन्दिर परिसरमा साँझ गरिने दैनिक दीप प्रज्वलनमा सम्पूर्ण प्राणी जगत्को कल्याणको कामना गरिने महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो ।

यही जेठ ४ गते परेको बुद्धजयन्तीमा मेला भर्न आउने भक्तजनको लाइन व्यवस्थापन तथा पथ प्रदर्शनका लागि स्वयंसेवक प्रबन्ध गरिएको छ । सामान्य स्वास्थ्य परीक्षण, आकस्मिक घटनाका लागि एम्बुलेन्सको व्यवस्थापन गरिएको ऊक्त जन्मजयन्ती कार्यत्रममा प्रहरीसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शाक्यमुनि बुद्धको जन्मजयन्ती मनाउने क्रममा महासमितिले विभिन्न धार्मिक गतिविधिका साथै स्वयम्भूको ऐतिहासिक पक्ष, मौलिक संस्कृति तथा सम्पदाको प्रचारप्रसार गर्ने गरेको छ ।

चैत्यदेखि करीब एक किलोमिटरको दूरीमा रहेको शान्तिपोखरी तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरेर सिङ्गारेपछि त्यो क्षेत्र अहिले आकर्षित देखिएको छ । त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य केही सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको छ ।
––– रासस

प्रतिक्रिया दिनुहोस्