३ जेठ, घोराही ।
लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् ।
अभियानको पहिलो दिन दुई हजार ५०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । बिहीबार पनि विभिन्न टोलमा पुगेर मदिरा नियन्त्रणमा लिएको अस्थायी प्रहरी चौकी गोग्लीका इन्चार्ज विष्णुबहादुर बुढाथोकीले बताए ।
घोराही उपमहानगरपालिका–४ बाह्रहाङ्गे, माथिल्लो भकारे र तल्लो भकारे, त्यसैगरी माझडाँडा, डाँडागाउँ, ढुङ्गेडाँडा, फल्लेडाँडा, राजधानी टोल, पारखेतलगायतका टोलमा पुगेर मदिरा नियन्त्रण अभियान चलाइएको इन्चार्ज बुढाथोकीले बताए ।
घरमै उत्पादन गरेर बिक्रीवितरण हुने मदिरामा महिला महीनावारी हुँदा प्रयोग गरिने प्याड, पुराना चप्पल, पुराना कपडा र पिसाब मिसावट हुने गरेको वडाध्यक्ष सार्कीले बताए ।
नियन्क्रणमा लिएर नष्ट गर्ने त्रममा कच्चा पदार्थ राखिएका ड्रमभित्र प्रयोग गरिएका सेनेटरी प्याड, पुराना चप्पल, कपडा भेटिएको उनले बताए । साथै कच्चा पदार्थसँगै राखिएको अवस्थामा अभियानकर्मीले एक ग्यालिन मानिसको पिसाबसमेत बरामद गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज बुढाथोकीले बताए ।
घरेलु मदिराको विरुद्धमा स्थानीय रूपमा सञ्चालन भएको अभियानले छापा मार्दा केही घरमा चप्पल मिसाइएको जाँड बरामद गरेको थियो भने एक ग्यालिन मानिसको पिसाब सङ्कलन गरेर राखिएको अवस्थामा फेला पारिएको थियो । टोल विकास संस्थाका पार्वती रानाले रक्सी पार्न राखिएको जाँडको ड्रमभित्र दुई जोर चप्पलसमेत भेटिएको बताए । “रक्सी पार्नका लागि राखिएको जाँडमा पुराना चप्पल राखिएको रहेछ, त्यो फाल्ने क्रममा भेटियो”, उनले भने , “एउटा घरमा एक जर्किन मान्छेको पिसाब सङ्कलन गरेर राखिएको थियो ।”
प्रहरीले त्यो पिसाब रक्सीमा मिसाउनका लागि राखिएको हुनसक्ने बताएको छ । त्यसका लागि प्रहरीले अनुसन्धान गर्ने र त्यस्तो गतिविधि गर्नेलाई कारवाही गरिने प्रहरी चौकी गोग्लीका इन्चार्ज बुढाथोकीले बताए । वडाध्यक्ष भीमबहादुर सार्कीले घरेलु मदिराले उत्पन्न गरेको अपराधलाई न्यूनीकरण गर्न मदिरा फाल्ने अभियान शुरु भएको भन्दै यसलाई नियमितरूपमा अगाडि बढाउने बताए । रासस